निर्वाचन सुरक्षाका लागि हतियार अपुग भएपछि प्रहरीले सेनासँग पेस्तोलका लागि माग सहितको पत्र पठाएको थियो ।देशभर एकै चरणमा निर्वाचन हुन लागेको हुनाले हतियार नपुग्ने विश्लेषणसहित प्रहरी प्रधान कार्यालयले सेनासँग हतियार माग गरेको थियो ।प्रहरीले निर्वाचनपछि फिर्ता गर्ने गरी सहयोग स्वरूप ती हतियार मागेको हो । आइतबार मात्रै नेपाली सेनाले नेपाल प्रहरीलाई एक हजार थान पेस्तोल उपलब्ध गराएको छ।
निर्वाचन सुरक्षाका लागि हरेक मतदान स्थलभित्र नेपाल प्रहरीका जुनियर अफिसर (सहायक निरीक्षक, नायब निरीक्षक र वरिष्ठ नायब निरीक्षक) को कमान्डमा म्यादी प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशभर रहेका १० हजार ७ सय ५६ मतदान स्थलमा सुरक्षाकर्मीहरु खटाईएको छ । मतदान स्थलको सुरक्षाका लागि सुरक्षा संवेदनशीलताअनुसार मतदान स्थललाई तीन वर्गमा बाँडिएको छ ।
अति संवेदनशील मतदान स्थलमा कम्तीमा ३ प्रहरी र ८ म्यादीसहित ११ जना सुरक्षाकर्मी खटिने छन्। संवेदनशील मतदान स्थलमा कम्तीमा ३ जना प्रहरी र ६ जना म्यादीसहित ९ जना रहनेछन् भने कम संवेदनशील मतदान स्थलमा कम्तीमा ३ जना प्रहरी र ५ जना म्यादीसहित ८ जना सुरक्षाकर्मी रहनेछन् ।
देशभर अति संवेदनशील मतदान स्थलको संख्या करिब ३ हजार र कम संवेदनशील मतदान स्थलको संख्या करिब २५ सयको हाराहारीमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार ६१ हजार ८ सय ३१ जना प्रहरीलाई निर्वाचन केन्द्रित परिचालन गरिएको छ ।उनीहरू मतदान स्थलको सुरक्षा, मोबाइल टोली, रिजर्भ टोली, उम्मेदवार सुरक्षा, सूचना संकलन र निर्वाचन सेलका रूपमा खटिएका खटिने छन् ।