Media Network

पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका पाँच जनालाई बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ २३ गतेको निर्णयअनुसार पाँच जना प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार बि.सी., दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

समारोहमा प्रहरी महानिरीक्षक सिंहले प्रदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरु तथा उनीहरुका परिवारलाई बधाई दिँदै नेतृत्वमा आइसकेपछि प्राथमिकता छुट्टाएर नविन कार्ययोजनाका साथ अगाडि बढनुपर्ने बताए । 

प्रहरी महानिरीक्षक सिंहले हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेट्दै उत्कृष्ट काम गर्ने विश्वास लिएको बताए । आगामी दिनको चुनौती समाना गर्न स्थानीय चुनावमा देखाएको व्यावसायिकतालाई कायम राख्दै क्रियाशिल हुन निर्देशन दिँदै मनसुन नजिकै आएको अवस्थामा विपद् व्यवस्थापनमा पूर्वतयारीका साथ लाग्नुपर्नेमा सिंहले जोड दिए । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद