पल शाह प्रकरण : के हो भिक्टिम ‘होस्टाइल’ ?


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
पल शाह प्रकरण :  के हो भिक्टिम ‘होस्टाइल’ ?
काठमाडौ। जबजस्ती करणीको अभियोगमा पुर्पक्षमा थुनामा रहेका  मोडल तथा अभिनेता पल शाह प्रकरणले एकाएक नयाँ मोड लिएको छ ।

आफुमाथि शाहले विभिन्न फरक फरक स्थानहरुमा बलात्कार गरेको भन्दै किटानी जाहेरी सहित मुद्दा हालेकी नाबालिगले एकाएक बयान फेर्दै आफू पीडित नभएको भनेपछि घटनाले नयाँ रुप लिएको छ ।आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा पीडित नाबालिग र उनका बुबाले बलात्कार नभएको तर अरुको दबाब र प्रभावमा परेर मुद्धा हालेको भन्दै बयान फेरेका छन्। 

घटनाक्रमले एकाएक नयाँ मोड लिएपछि पीडित पक्षबाट बहस गरिरहेका कानुनविद्हरु पनि आश्यर्यमा परे । उनीहरु यतिबेला भिक्टिम ‘होस्टाइल’ को चर्चा बहसमा देखिन्छ ।


आखिर के हो त भिक्टिम होस्टाइल ?

पीडितले अभियोगपत्रमा गरिएको मागदाबीअनुसार अदालतमा जाहेरी तथा प्रहरीमा गरेको कागजलाई पुष्टि गर्ने बकपत्र गर्नुको साटो त्यसलाई झुटा ठहर्याउने बयान दिनु होस्टाइल हो । 

जहाँ पीडित पक्षबाट प्रहरीमा पीडकलाई न्याय दिलाउनका लागि दण्ड–सजायको मागसहित जाहेरी दिइएको हुन्छ। जुन कुराको उल्लेखसहित पीडितले प्रहरीसमक्ष कागजसमेत गरेको हुन्छ।

पीडित, जाहेरीवाला तथा साक्षीका बकपत्र, घटनास्थल मुचुल्कामा प्राप्त वस्तुगत वैज्ञानिक तथ्य, संकलित प्रमाण, पीडितको शारीरिक परीक्षणको रिपोर्ट,  किटानी जाहेरी तथा अनुसन्धान अधिकारीद्वारा संकलित अन्य प्रमाण आदिका आधारमा पीडकलाई दण्ड–सजाय तथा पीडितलाई न्याय दिलाउन सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गर्छन्।

सोहीअनुसार अदालतमा पीडितले बकपत्र गर्नुपर्नेमा जब कुनै दबाब वा प्रभावमा परेर उल्टो या झुठो बयान दिन थाल्छन्, त्यसलाई होस्टाइल बकपत्र मानिन्छ। खासगरी फौजदारी केसमा पनि विशेष गरी बलात्कार, जबरजस्ती करणीका केसहरुमा बकपत्र होस्टाइल भएको पाइन्छ । यसअघि पनि यस्तै प्रकृतिका घटनामा अदालतले पिडकलाई सफाई दिदै पीडितलाई नै कैद सजाय तोकेको यस्ता धेरै नजिरहरु कानुनमा भेटिन्छन्,।

पीडितले बयान फेरे पनि प्रभावित भई होस्टाइल भएर जाहेरीमा भएको कुरालाई सहि सावित मानिएको खण्डमा अदालतले शाहलाई नै सजाय तोक्न पनि सक्छ ।यदी पीडितले बयान फेरेको सहि सावित भएको खण्डमा अदालतले ६ वर्षसम्मको कैद सजाय तोक्न सक्ने कानुनी प्रावधान रहेको छ ।