पल शाहलाई थुनामा राख्न नवलपुर अदालतको आदेश


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
पल शाहलाई थुनामा राख्न नवलपुर अदालतको आदेश
पूर्वी नवलपरासी / नाबालिका बलात्कारको आरोप खेपेका मोडल तथा अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्म शाहलाई तनहुँमै थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुने गरि शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । बुधबार पल शाहका तर्फबाट ९ जना वकिलले बहस सुरु गरेका थिए, भने पीडित किशोरीका तर्फवाट ३ जना सरकारी वकिलले बहस गरेका थिए ।

हाल शाह सोहि प्रकृतिको अर्को मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि थुनामा रहेका छन् ।अभिनेता शाहले एक वर्षअघि गैंडाकोटमा सुटिंगका क्रममा किशोरीलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो ।