पल शाहविरुद्ध तनहुँ अदालतमा बलात्कार मुद्दा दर्ता, १४ वर्ष कैद सजाय माग


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
पल शाहविरुद्ध तनहुँ अदालतमा बलात्कार मुद्दा दर्ता, १४ वर्ष कैद सजाय माग
काठमाडौं। नाबालिग बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ  । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । हिजो मात्र शाहमाथि गरिएको अनुसन्धानको फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।

नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् ।  

त्यस्तै जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजायको मागदावी गरिएको छ । उनका म्यानेजर कृष्ण जोशीलाई भने मतियारको रूपमा देखाइएको छ । उनलाई पललाई मागदावी गरेकाे सजायको आधा कैद सजाय माग गरेकाे न्यायाधिवक्ता शर्माले  बताए । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेकको बहस पछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने एक निर्णय हुने छ ।

यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनीविरुद्ध बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै अभियोगपत्र दायर गरिएको थियो । गत ३ चैतमा जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको थियो । 

नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको थियो ।  शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।