पप्पु कन्स्ट्रक्सनलाई सवा ७ करोड जरिवाना तिराउने विशेष अदालतको फैसला


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
पप्पु कन्स्ट्रक्सनलाई सवा ७ करोड जरिवाना तिराउने विशेष अदालतको फैसला
काठमाडौं। विशेष अदालतले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारलाई ७ करोड २४ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ। विशेष अदालतका श्रीकान्त पौडेल, यमुना भट्टराई र सालिकराम कोइरालाको संयुक्त इजलासले उक्त फैसला गरेको हो। 

तीन वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला सुनाउँदै पप्पुका सञ्चालकलाई बिगो मागबमोजिम जरिवानामा तिराउने फैसला गरेको विशेष अदालतले जनाएको छ। 

बबई नदीमाथि पुल बनाउँदा त्यसको डिजाइनदेखि निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले २०७५ असोजमा मुद्दा दायर गरेको थियो। अदालतमा मुद्दा परेपछि हरिनारायण प्रतिनिधि सभा सांसदबाट निलम्बित भएका थिए। 

२०७४ को चुनावमा उनी पर्साबाट संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए। विशेष अदालतले सोही मुद्दामा मनोजकुमार श्रेष्ठ, भानु जोशी र राजेशकुमार यादवलाई ८ महिना कैद र २५ हजार जरिवाना तोकेको छ भने नवराज केसी र हरिबहादुर खड्कालाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।