क्षेत्रीले वरियतामा रहेकालाई अगाडि बढाउन प्रयास गरेतापनि सहज भने देखिएको छैन । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा प्रहरीमा नेतृत्वको प्रतिस्पर्धाले सिंगो संगठनलाई नै प्रभाव पार्ने देखिन्छ ।
वर्तमान आईजीपी क्षेत्रीसँगैका चार जना ब्याची एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्त पन्त छन् ।
यदि क्षेत्री बिदामा बसेको खण्डमा उनीहरुमध्येबाटै केही दिनका लागि प्रहरीको निमित्त आईजीपी हुनेछन् । तर तिनीहरु पनि आईजीपी क्षेत्रीसँगै १९ बैशाखमा नै अवकाशमा जानेछन् ।
त्यसपछि सरकारले प्रहरी नियमावलीमा व्यवस्था भएअनुसार जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दामुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।
नियमावलीमा जेष्ठतालाई प्राथमिकतामा राखिएको छ, भने सँगसगै कार्यकुशलता, कार्यक्षमतालगायतका विषय पनि समावेश गरिएका छन् । यस आधारमा वरियताक्रममा अगाडि देखिएका नै आईजीपीमा चयन हुनेछ ।
प्रहरी संगठनको नियमावली अनुसार वरियतामा पहिलो नम्बरमा रहेका विश्वराज पोखरेल अग्रंपक्तिमा देखिन्छन् । तर यसबीचमा प्रहरी संगठन भित्र राजनीतिक प्रभाव परेको स्पष्ट देख्न सकिन्छ । हुन त प्रहरी संगठनमा यसअघि पनि राजनीतिक गन्ध नभेटिएको भने होइन । राजनीतिक विगतमा पनि सोही कारण नवराज सिलवाल वरियतामा अगाडि भएपनि प्रकाश अर्यालले बाजी मारेका थिए ।
संयोगले हालको अवस्था पनि त्यस्तै देखिन गएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विश्वराज पोखरेल र सहकुल थापाले एआईजीको दरबन्दी थप गरी बढुवा पाएका थिए भने सो सरकार पश्चात कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि एआईजीको दरबन्दी थप गरी पोखरेलकै ब्याचीहरु धीरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवामा परे ।
पूर्व घर भएका पोखरेल र भक्तपुरका रैथाने थापासँगै प्रतिस्पर्धाको दौडमा देखिए, सुदूरपश्चिमका धीरजप्रताप सिंह र रवीन्द्र धानुक । प्रधानमन्त्री देउवा नेतृत्वको सरकार आएपछि एकाएक चर्चामा आएका सुदूरपश्चिमका धीरजप्रताप, लगत्तै सीआईबीमा पुराइए उनी, एआईजीमा बढुवापछि उनलाई सीआइबीको नेतृत्व एआईजीले नै गर्ने गरी पदस्थापन गरिएको छ ।
सीआईबीमा रहँदा कार्यसम्पादन तथा कार्यक्षमतामा अब्बल देखिएका सिंह लगायत अन्य तीनै जना एउटै ब्याची भएकाले सत्ता र शक्तिको निकटमा रहने व्यक्ति अथवा प्रधानमन्त्री देउवाको साथ जसलाई मिल्छ, उही आईजीपी हुने निश्चितप्रायः छ । क्षेत्रीय हिसाबले देउवाले सिंहलाई नै अगाडि बढाउन सक्ने देखिन्छ । यद्यपी नेतृत्वको बाजी कसले मार्छ, त्यो भने हेर्न बाँकी नै छ ।