Media Network

सीआइबीको आँखी बन्दै ललिता निवास प्रकरणका दोषीहरु


खबरस्टोरी संवाददाता

१२ पुष २०७८,सोमबार

काठमाडौं / पछिल्लो समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले ललिता निवास जग्गा प्रकरणमा व्यापक रुपमा अनुसन्धान थालेपछि प्रकरणमा मुछिएका हाइप्रोफाइलहरुकै व्यक्तिहरुबीच तरंग मच्चिएको छ । सो प्रकरणमा योजनाकारको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी यतिबेला सीआइबीको हिरासतमा छन् ।उनीहरुको कम्पनीदेखि सबै व्यक्तिगत सम्पत्तिमा समेत सिआईबीले थप अनुसन्धान थालेको छ ।

यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त दीप बस्न्यात समेत मुछिएका थिए । सुत्रका अनुसार उनी यतिबेला देश नै छाडेर अन्यत्र पुगेका छन् ।बस्न्यातमाथि सरकारको सचिव हुँदा ललिता निवास प्रकरणमा भूमिका खेलेको आरोप छ । त्यस्तै अर्का आरोपी शोभाकान्त ढकालकी पत्नी उमा ढकाल पनि हाल फरार छिन् । 

ललिता निवास प्रकरणमा सीआइबीले २०७७ मा विस्तृत अनुसन्धान गरी १४३ रोपनी जग्गा हिनामिना भएको भन्दै ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो । 

सोहि क्रममा अख्तियारले १७५ जनाविरुद्ध मुद्दा दर्ता गर्दा २० अर्बको बिगो दाबी गरेको थियो । ११० जनाविरुद्ध भ्रष्टाचार मुद्दा र ६५ जनाविरुद्ध जग्गा जफतको मुद्दा दायर भएको थियो । जसमा ३ पूर्वमन्त्री र ३ पूर्वसचिव पनि परेका थिए ।

ललिता निवास जग्गा प्रकरणमा सीआइबीले तत्कालीन मन्त्री विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, छविराज पन्त सञ्जय साहलाई पनि आरोपी ठहर गरेपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद