सुन ल्याउने नयाँ तरिकाः सुनकै बन्यो सुटकेशको ह्याण्डिल


खबरस्टोरी संवाददाता
१८ असार २०७९, शनिबार
सुन ल्याउने नयाँ तरिकाः सुनकै बन्यो सुटकेशको ह्याण्डिल
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भन्सार चेकजाँचको क्रममा यात्रुले ल्याएको सुटकेश नै सुनको फेला पारेको छ । 

शुक्रबार बेलुका ८ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत बैंककबाट काठमाडौं आएको यात्रुको सुटकेशको ह्याण्डिलनै सुनको फेला पारेको हो ।

रोकेश तुलाधर नाम गरेका ती यात्रुले ल्याएको सुटकेशलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्याण्डिल साइडको भित्रपट्टी शंकास्पद धातु रहेको पाएपछि उसैको रोहवरमा सुटकेशको ह्याडिलको भाग च्यातेर हेर्दा भित्रि भाग सुनको भेटिएको थियो । 

अन्य कुनै मालसामान नराखिएको खाली (नयाँ) सुटकेशको ह्याण्डिल साइडको भित्रपट्टी करिब ५ इन्च लम्बाई र १ इन्च चौडाईको सुनको बारलाई कार्वन पेपरले ¥यापिङ् गरी अड्काएर लुकाई छिपाई ल्याएको अवस्थामा उक्त सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

निजले ल्याएको सुनको कुल तौल २६७.४ ग्राम रहेको कार्यालयले जनाएको छ । शुक्रबार राती नै ती यात्रुलाई नेपाल प्रहरीको हिरासतमा राखि भन्सार कार्यालयले विस्तृत अनुसन्धान प्रारम्भ गरिरहेको जनाइएको छ ।