Media Network

सापटी रकमको दोब्बर फिर्ता पाइने लोभमा फसेपछि...


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

काठमाडौँ। सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनप्रति विश्वास गर्दा नेपाली नागरिक करोडौँ रकम ठगिन पुगेका छन् । 

परिवार र नातागोतामा समेत यसरी सापटी रकम दोब्बर दिन्छु भन्दा पत्याउन गाह्रो हुने अवस्थामा चिन्दै नचिनिएका र कहिलै भेटघाट नभएका मान्छेप्रति कसरी विश्वास गर्न सकिएको होला ? यस्तै घटना हुँदा रु एक करोड २२ लाख ठगिन पुगेको रहस्य प्रहरीले पत्ता लगाएको छ । 

यसरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ समेत परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौँ महानगरपालिका–१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् । उनीहरुलाई विभिन्न मितिमा काठमाडौँबाट पक्राउ गरी कानूनी कारबाही थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उक्त सूचना आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिने प्रलोभन देखाएका थिए । 

ती विदेशी नागरिकले प्रलोभन देखाई भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बर प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा रु ७८ लाख, भुजेलको नामको नविल बैंकको खातामा नगद रु नौ लाख ५० हजार र अन्य मानिसबाट थप रकमसमेत गरी ठगी गरेको खुल्न आएको छ । उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले सूचना जारी गरी जनाएको छ ।  

यसैबीच रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेलसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौँ बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २७ वर्षीय रामबहादुर खत्री र काठमाडौँ बुढानीलकण्ठ–५ बस्ने कास्कीको लेखनाथका ४० वर्षीय गङ्गाबहादुर पुन रहेका छन् । 

रक्तचन्दनको तेल प्रतिलिटर रु पाँच लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएकोे छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद