काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक सहित १ सय १२ वटा दरबन्दी थप गरेको छ ।
सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घट्ने गरी सरकारले पद समायोजन गरेको हो । पद समायोजनका क्रममा १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ ।गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेल नेतृत्वको पाँच सदस्यीय संगठन तथा सर्वेक्षण व्यवस्थापन समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद्को बिहीबारको बैठकले पद समायोजन गरेको हो । समितिमा सशस्त्र प्रहरीको तर्फबाट डीआईजी राजु अर्याल सदस्य थिए ।
स्रोतका अनुसार स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ एक÷एकवटा डीआईजीको दरबन्दी थप भएको हो । थप भएको दरबन्दीमा स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रूपक महर्जन बढुृवा हुनेछन् ।
यसैगरी, इन्जिनियरिङ तथा सञ्चारतर्फ थप भएको डीआईजी पदमा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप थापा बढुवा हुनेछन् ।पद समायोजनका क्रममा स्वास्थ्यतर्फ दुई एसपी र २२ सईको दरबन्दी थप गरिएको छ । यसैगरी, साधारण समूह कानुन उपसमूहअन्तर्गत एउटा एसएसपीको दरबन्दी थप गरिएको छ । कानुन उपसमूहको एसएसपीको स्वाभाविक दाबेदार एसपी युवराज अर्याल रहेका छन् ।
उनीसँगै सिसं २ का इन्सपेक्टर अहिले कामु एसएसपी भइसकेका छन् ।यसैगरी, सरकारले साधारण समूह लेखा उपसमूहतर्फ १० डीएसपी र १० इन्सपेक्टरको दरबन्दी थप गरेको छ । लेखातर्फ राजकुमार ढकाल, गणेशबहादुर मल्ल, करबहादुर घर्ती, महेन्द्र हमाल, रमेश थापा, खुसबहादुर श्रेष्ठ, उर्मिला थापा, सुदनराज गिरी, तारा केसी, शोभाकान्त ढकाल, उमाकान्त जोशीलगायत डीएसपी हुनेछन् ।यसैगरी, साधारण समूह साधारण उपसमूह (इन्फेन्ट्री)तर्फ ४४ डीएसपी र २० एसपीको दरबन्दी थप गरिएको छ ।
यो दरबन्दी थपले लामो समयदेखि एउटै पदमा बस्नुपर्ने बाध्यताको केही हदसम्म सम्बोधन भएको छ । ४४ डीएसपीको दरबन्दी थप हुँदा सिसं ६ का सबै जना इन्सपेक्टर डीएसपी बन्ने बाटो खुलेको छ । साथै सिसं ७ का केही इन्सपेक्टर पनि डीएसपी बन्नेछन् ।यसैगरी, इन्फेन्ट्रीतर्फ थपिएको २० एसपीमा सिसं ३ का डीएसपी बढुवा हुनेछन् ।
सशस्त्रमा अहिले पनि ११ एसपी पद रिक्त नै छ । बढुवामा नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका पनि पर्नेछन् ।समायोजन गर्ने क्रममा १ सय ७४ दरबन्दी कटौती गर्ने क्रममा लेखातर्फ असईका २७ दरबन्दी कटौती गरिएको छ । यसैगरी, स्वास्थ्यतर्फ ३ असई, सञ्चार तथा इन्जिनियरिङतर्फ ८ हबल्दार, १ सय ३५ जवानको दरबन्दी कटौती गरिएको छ । यस्तै, कानुनतर्फ इन्सपेक्टरको एउटा दरबन्दी कटौतीमा परेको छ ।