बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै, तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीस्थित सडकमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोदेखि करिब १ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २६ वर्षीय रबिन खापुङको घट्नास्थलमै मृत्यु भएको छ ।
यसैगरी, कैलालीको घोडाघोडी नगरपालिका–२ पान्डेचोक साडेपानीस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलको ठक्करबाट घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने ५५ वर्षीया तारा रावलको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीस्थित सडकमा मे.१ ख २४९४ नम्बरको ट्याङ्कर र को.५ प २३३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २६ वर्षीय प्रेम घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको समर्पित अस्पताल हुँदै बिएण्डसी अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनकै श्रीमती २६ वर्षीया कञ्चन मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेस्थित सडकमा ना.८ ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गोरखा गण्डकी गाउँपालिका–५ दरबुङ बस्ने ४४ वर्षीया राम माया बिकको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।