Media Network

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौं । देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । 

कैलालीको गोदावरी नगरपालिका–५ सुदुर फुट नजिक सडकमा से.१ त ३१०१ नम्बरको ट्याक्टरले चेम्फा ट्याक्टरलाई शनिबार दिउँसो ठक्कर दिँदा चेम्फा ट्याक्टरका चालक गोदावरी नगरपालिका–५ गेटी बस्ने २० वर्षीय सुबास चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढी हुँदै सेती प्रादेशीक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी व्यारेलमा से.१ त ९६६८ नम्बरको ट्याक्टरले से.२ प ५६५८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ बारकुण्डा बस्ने ३५ वर्षीय तेज सिंह धामीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नमुनाचोकस्थित सडकमा रोकी राखेको प्र.२–०३–००१त ४३७३ नम्बरको ट्याक्टरमा बा.प्र.०३–००५प ३७२६ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका–२ बस्ने १५ वर्षीय मनिस दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, इलामको सूर्योदय नगरपालिका–७ सुकेपोखरीस्थित सडकमा झापाबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९१९३ नम्बरको स्कारपिओ आफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा स्कारपिओमा सवार झापा बिर्तामोड नगरपालिका–३ बस्ने ५७ वर्षीय इश्वरी प्रसाद खरेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कारपिओका चालक सहित ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै, पाँचथरको फालेलुङ गाउँपालिका–३ नाम्लोवास्थित सडकमा पञ्चमुखीबाट थोक्लेवुङतर्फ जाँदै गरेको प्र.१–०२–००३ त १८५४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १० फिट तल खसेर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश साँवाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद