तस्करीमा नयाँ शैली : कपडाको बटन नै सुनको


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
तस्करीमा नयाँ शैली : कपडाको बटन नै सुनको
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नाबालकले लगाउने कपडाको बटम नै सुनको बनाएर अवैध रुपमा लुकाइछिपाइ ल्याएको सुन नियन्त्रणमा लिएको छ।

असार २० गते सोमबार बिहान करिब ११ बजे दुवईबाट काठमाडौं आएका एक जना यात्रुले आफ्नो साथमा लिएर आएको लगेज चेकजाँच गर्ने क्रममा उक्त लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ फेला परेको कार्यालयले जनाएको छ।

नियन्त्रणमा लिएको सुनको तौल करिब १२५ ग्राम रहेको छ। सुमन दमाई नाम गरेका ती यात्रु भिजिट भिषामा दुवई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुवई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पु¥याइदिन अनुरोध गरेको हुँदा ल्याइदिएको कुरा बताएका छन्।त्यसरी फेला पारेको सुन स्टील बटनको भित्री भागमा फिट गरि राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको रहेको छ।