रसुवा, गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ सोही ठाउँस्थित उत्तिसघारी जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ५/७ दिनदेखि घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यस्तै, रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका–१४ त्रिबेणीस्थित खोला किनारमा सोही गाउँपालिका–१२ घर भएका ५५ वर्षीय जयबहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँ जाने बाटोको जंगलमा सोही ठाउँ बस्ने ३१ वर्षीया तारा भुजेल शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ६/७ दिनदेखि हराई बेपत्ता भएकी ताराको उक्त जंगलमा शव फेला परेको हो ।
यस्तै, नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ फेनहरा बस्ने ६७ वर्षीय राधे चमार प्रतापपुर गाउँपालिका–७ सूर्यापुरास्थित गण्डक नहर सूर्यापुरा पावर हाउसको जालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता, सर्लाही हरिवन नगरपालिका–१० ताईवान टोलस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका सोही ठाउँमा मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।