गठबन्धन सरकारले आफूभन्दा कनिष्ठ अतिरिक्त महानिरीक्षक र आफैंले अतिरिक्त महानिरीक्षकको फुली लगाइदिएको धीरज प्रताप सिंहलाई महानिरीक्षक स्वीकारेर स्यालुट गर्नुपर्ने नैतिक संकटको अवस्था आएपछि २०७९ वैशाख १९ गतेबाट ३० दिनको बिदा लिएर न्यायका लागि अदालतको ढोकामा पुगेका पोखरेललाई यतिबेला संकटको स्थिति देखापरेको छ ।
अदालतमा उनले दिएको रिटमाथि ३० गते सुनुवाईका लागि पेशी तोकिएको छ ।
यता, अतिरिक्त महानिरीक्षक पोखरेलको ३० दिने घर विदा २०७९ जेष्ठ २४ गते समाप्त भएको छ । प्रहरी नियमावली २०७२ अनुसार ३० दिने विदा समाप्त भएको भोलिपल्ट अर्थात आगामी २०७९ जेठ २५ गते आफ्नो जिम्मेवारी सम्हाल्न अतिरिक्त महानिरीक्षक पोखरेल प्रहरी प्रधान कार्यालयमा अनिवार्यरूपमा उपस्थित हुनुपर्ने हुन्छ ।
अझै सर्वाेच्च अदालतको निर्णयलाई पर्खिन पोखरेलले आगामी जेठ २५ गतेबाट घरविदा थप्नुपर्ने हुन्छ । तर, उनले माग्ने घर विदालाई स्वीकृत गर्ने वा नगर्ने विवेकीय अधिकार भने प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षक सिंहमा निहित रहन्छ ।
अन्यथा जिम्मेवारी सम्हाल्नुको विकल्प वा राजीनामा दुई वटा बाटो रहन्छ ।
एआईजीपी विश्वराज पोखरेल मानवस्रोत विभागको प्रमुख हुँदा बिदामा बसेका थिए । हालै मात्र उनको प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।
पोखरेलको मुद्दाको टुंगो कहिले लाग्छ यकिन छैन । प्रहरीमा हाल ३० वर्षे सेवा अवधि कायम छ भने एआईजीपीको उमेरहद ५६ वर्ष र आईजीपीको उमेर हद ५८ वर्ष रहेको छ ।
पोखरेल आगामी २०७९ साउन २० गते ५७ वर्ष लाग्छन् । २०७९ साउन २० गते अघि नै मुद्दाको किनारा लागेर उनको हकमा आदेश नभएको अवस्थामा स्वतः एआईजीपी पदबाटै अवकाश पाउनेछन् ।
३० वर्षे उमेरहदको समय बाँकी रहेको अवस्थामा अतिरिक्त प्रहरी महानिरीक्षकको उमेरहद ५६ वर्ष र प्रहरी महानिरीक्षकको उमेर हद ५८ वर्ष कायम रहने व्यवस्था प्रहरी नियमावलीमा उल्लेख रहेको छ ।