विभिन्न घटनामा एक बालिकासहित ५ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१८ असार २०७९, शनिबार
विभिन्न घटनामा एक बालिकासहित ५ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न ठाउँमा भएको विभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ ।  सर्लाहीको बरहथवा नगरपालिका–३ पथलैया चोकस्थित बुढी बागमती नदीमा सोही ठाउँ बस्ने ७० वर्षीय लक्ष्मी रायको शुक्रबार बिहान डुबेर मृत्यु भएको छ । 

यस्तै, दाङको लमही नगरपालिका–८ घर भई हाल गढवा गाउँपालिका–१ राङसिंग खोलास्थित शुभ श्री अग्नी सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने ३२ वर्षीया रिना रावतकी छोरी ४  वर्षीया रेश्मा रावतको शुक्रबार दिउँसो डुबेर मृत्यु भएको छ । आमासँग कपडा धुनको लागि उक्त खोलामा गएकोमा खेल्ने क्रममा पुल बनाउनको लागि खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

उता, नवलपरासी(पर्वू), बौद्वीकाली गाउँपालिका–३ बोझापोखरी बस्ने ८४ वर्षीय हिराबहादुर सुनारको लडेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घरको सिँढीबाट लडेर गम्भीर घाइते भएका उनको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी, धनुषाको जनकनन्दनी गाउँपालिका–१ मलहनिया बस्ने २२ वर्षीया दिपिकादेवी यादवको लडेर बिहीबार मृत्यु भएको छ । आफनै घरको बाथरूममा नुहाई फर्किने क्रममा लडेर गम्भीर घाइते भएकी उनको भारतको जयनगर तिलकारी अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैबीच, लमजुङको दुधपोखरि गाउँपालिका–४ ज्यामिरेस्थित चेपे खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।