बुढीगंगा नगरपालिका विवादः सीडीओसहित दुई प्रहरी प्रमुखलाई तीन दिनभित्र हटाउन निर्देशन, पुनः मतदान गरिने


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
बुढीगंगा नगरपालिका विवादः सीडीओसहित दुई प्रहरी प्रमुखलाई तीन दिनभित्र हटाउन निर्देशन, पुनः मतदान गरिने
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसबाटै बुथ कब्जा गरिएको बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । बुढीगंगा नगरपालिका विभिन्न वडामा सत्तारुढ कांग्रेस र केही वडामा एमालेले बुथ कब्जा गरेको दाबी गर्दै आएका थिए । 

निर्वाचन आयोगले विहीबार सूचना जारी गर्दै पुनः मतदान गर्ने जनाएको हो । 

निर्वाचन आयेगको विहीबार बसेको वैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा ब्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निश्पक्षतामा आँच आउने काम गरेको ठहर गर्दै उनीहरुलाई तीन दिनभित्र हटाई सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाइ स्थानीय तह निर्वाचनको प्रकृया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४१ को उपदफा ४ अनुसार नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ ।