Media Network

भरतपुर महानगरः रेणु दाहाल भर्सेज विजय सुवेदी


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

चितवन । नेकपा (माओवादी केन्द्र)की नेतृ एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल पुनः भरतपुर महानगरपालिकाको उम्मेदवार बनेकी छन् । अघिल्लो २०७४ सालको निर्वाचनमा रेणु दाहाल विवादकाबीच झिनो मतान्तरले विजयी भएकी थिइन् । त्यो निर्वाचनमा उनी नेपाली कांग्रेसको साथ पाएर निर्वाचित भएकी थिइन् । 

कांग्रेसको साथ पाएर दाहाल मेयर निर्वाचित भएपछि उनी सम्बद्ध पार्टी माओवादी केन्द्र एमालेसँग विलय भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । तर पार्टी नेतृत्व पंक्तिको रस्साकस्कीकैबीच सर्वोच्च अदालतले दुई पार्टीलाई पुरानै ठाउँमा पुर्याइदियो । 

संयोगवश पाँच वर्षपछिको निर्वाचनमा पुनः दाहालले कांग्रेसकै साथ पाएकी छन् । कांग्रेससँगै उनलाई अहिले एमालेबाट टुक्रिएको माधव नेपालको समूह, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाकोसमेत साथ पाएकी छन् । 

रेणुले ७४ को निर्वाचनमा ४३ हजार १ सय २७ मत प्राप्त गरेकी थिइन् भने नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए । दाहाल र ज्ञवालीबीचको मतान्तरण २ सय ३ मात्र थियो । मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यात्ने काम समेत गरेका थिए । 

दाहाललाई एमालेका सुवेदीको चुनौति

अहिले वैशाख ३० गते हुने निर्वाचनमा एमालेबाट विजय सुवेदीले भरतपुरको मेयर पदमा उम्मेदवारी दिँदैछन् । बाग्मती प्रदेशसभा सदस्य रहेका सुवेदीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर महानगरको मेयरको उम्मेदवारी दिन लागेका हुन् । 

उनी चितवन क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए । 

सुवेदी बाग्मति प्रदेश सरकारमासमेत छोटो समय सहभागी भए । उनले झण्डै दुई महिना सामाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने मौका पाएका थिए । 

छोटो समय मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा उनले चितवनको विकासमा महत्वपूर्ण काम गर्ने अवसर पाएका थिए । 

माओवादीमा अस्तित्वको लडाईँ 

माओवादी केन्द्रकी नेतृ एवम् प्रचण्डपुत्री रेणुलाई चितवनमा जित्नै पार्ने बाध्यता छ । रेणुलाई जिताउनकै लागि प्रचण्डले गठबन्धनमा एक मात्र भरतपुर महानगरपालिका रोजेका छन् । 

स्थानीय चुनाव लगत्तै हुने संघको निर्वाचनमा प्रचण्ड पनि चितवबाटै उठ्ने योजनाका साथ नै माओवादीले भरतपुर महानगरलाई विशेष प्राथमिकता दिँदै आएको छ । प्रचण्डको आफ्नै निर्वाचन क्षेत्रसमेत भएकाले पाँच दलीय गठबन्धन बन्दा पनि पराजित भएमा माओवादीको साख गिर्ने देखिएको छ । 

यता, एमालेले भने कुनै पनि हतकण्डा अपनाएर भए पनि प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनको भरतपुर महानगरमा माओवादीलाई हराउने रणनीतिमा छ । सोही रणनीतिका साथ एमालेले सुवेदीलाई मेयर उठाउँदै गर्दा उपमेयरमा ठोस गरेको छैन । राप्रपासँग तालमेल गर्ने उद्देश्यका साथ एमालेले उपमेयर खाली राखेको छ । 

राप्रपासँग तालमेल भएको खण्डमा भने रेणुले गठबन्धनबाट चुनाव जित्ने मुश्किल पर्ने देखिएको छ । २०७४ सालको निर्वाचनमा राप्रपाका बद्रिनाथ तिमिल्सिनाले ६ हजार ८ सय ४२ मत प्राप्त गरेका थिए । गएको चुनाव भन्दा अहिले राप्रपाले देशैभर सांगठनिक अवस्था अझ मजबुत बनाएको छ भने ठूला पार्टीको राजनीतिक गतिविधिबाट निरास नागरिकहरुको आकर्षण राप्रपातर्फ बढ्दै गएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद