Media Network

भरतपुरमा गठबन्धनको ‘तगारो’ बनेका जगन्नाथ


खबरस्टोरी संवाददाता

१८ बैशाख २०७९,आईतवार

चितवन । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सबैभन्दा चासो चितवनको भरतपुर महानगरपालिका बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी रेणु दाहाललाई नै सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनाएपछि चितवनका कांग्रेसीहरु असन्तुष्ट बने । असन्तुष्ट कांग्रेसीको अगुवाई कांग्रेसका पुराना स्थापित नेता जगन्नाथ पौडेलले गरे । 

पौडेल कांग्रेसका पूर्व राष्ट्रियसभा सदस्य तथा साविकको भरतपुर नगरपालिकाको उपमेयरसमेत भएका थिए । खासगरी माओवादी अध्यक्ष प्रचण्डको निजी चाहनामा कांग्रेसले साथ दिएपछि पार्टीको ह्वीप र निर्देशनसमेत नमानेर कांग्रेस स्थानीय नेता कार्यकर्ता अघि बढेका हुन् । प्रचण्डले ६ वटा महानगरपालिका मध्ये एक मात्र भरतपुर महानगरलाई मात्रै रोजेका थिए । उनको चाहनामा प्रधानमन्त्री शेरबहादुर देउवा सारथी बनिदिए । 

भरतपुर महानगरमा एमालेबाट पूर्व सांसद विजय सुवेदी मेयरका उम्मेदवार छन् । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपाले साथ दिएपछि एमाले उम्मेदवार सुवेदीको चुनौती बनेको गठबन्धनमा कांग्रेसकै स्थापित सामाजिक ब्यक्तित्व पौडेल अझ बढी चुनौतिका रुपमा खडा भएका छन् । कांग्रेसी कार्यकर्ताले पटक पटक हसियाँ हथौडामा भोट खसाल्न नसक्ने एक मात्र अडान लिएका पौडेललाई मनाउन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले भरतपुर पठाएका थिए । तर अन्तिम समयसम्म गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठको प्रयास असफल भयो । 

गठबन्धनविरुद्धको बागी उम्मेदवारहरुलाई फिर्ता गराउन कांग्रेसले पार्टी सदस्यता नै खारेज गर्नेसम्मको निर्णय गरेपछि पौडेल आत्मसमर्पण गरेनन् । उम्मेदवार फिर्ता नलिएपछि पौडेलका साथै उनका प्रस्तापक र समर्थक कृष्णलाल सापकोटा र मीना खरेल पनि पार्टीबाट स्वतः निष्काशित भए । 

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भइ पार्टीबाट स्वतः निष्काशित हुने’ निर्णय गरेको थियो । 

आफ्नो उम्मेदवार कायमै राखेर पार्टीको कारबाही भोग्न तयार भएका पौडेललाई निर्वाचन आयोगले शनिवार चुनाव चिन्ह ‘भुइँकटहर’ दियो । पार्टी सदस्यसमेत नरहने गरी निस्काशित भएका पौडेल भने कांग्रेसकै झण्डा अनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा बोकेर घरदैलो गरिरहेका छन् । 


निर्वाचन चिन्ह पाएलगत्तै भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा रहेको वीपीको शालिकमा माल्यार्पण गरेर चुनावी अभियान शुरु गरेका छन् ।    

निर्वाचन आयोगले चुनाब चिन्ह भुइँकटहर दिएपछि उनले आफ्नो निर्वाचन चिन्हलाई रुखकै रुपमा लिँदै रुखको सट्टा सानो रुख पाएको बताएका छन् । 

भरतपुरको २९ वटै वडामा चुनाव प्रचारप्रसार अभियानलाई तीब्र पार्ने बताएका पौडेलका साथका कांग्रेस पुराना हस्तीहरु मात्र नभई युवाहरुको लाम देखिएको छ । 

२०७४ को निर्वाचनमा माओवादीबाट निर्वाचित रेणु दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरेकी थिइन् भने नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए । दाहाल र ज्ञवालीबीचको मतान्तरण २ सय ३ मात्र थियो । मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यात्ने काम समेत गरेका थिए ।

रेणुको समर्थनमा पाँच दलीय गठबन्धन बनिरहँदा २०७४ सालको निर्वाचनमा ६ हजार ८ सय ४२ मत प्राप्त गरेको राप्रपाले एमालेलाई साथ दिएको छ । ७४ मा राप्रपाका बद्रिनाथ तिमिल्सिनाले ६ हजार ८ सय ४२ मत प्राप्त गरेका थिए । राप्रपा अहिले विभाजित भए पनि अघिल्लो निर्वाचनमा भन्दा बढी क्रेज लिङदेन नेतृत्वको राप्रपालाई देखिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद