Media Network

चुनावी तालमेल मिलाएर लैजान नेता कार्यकर्तालाई पाँच दलीय गठबन्धनको अपिल


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौँ । आसन्न निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गर्ने सहमति गर्दै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता कार्यकर्तालाइ आग्रह गरेका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठकपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा अपिल जारी गर्दै हिजोका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने बताएका छन् ।

‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छन् । र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं,’ पाँच दलका नेताद्धारा जारी अपिलमा भनिएको छ, ‘त्यसका लागि देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं ।’

गठबन्धनले १७ चैतको बैठकमै आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो । चुनावी तालमेल कसरी गर्ने भन्ने मोडालिटी तयार गर्न मंगलबार दिउँसो ४ बजे गठबन्धनको अर्को बैठक बस्ने भएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद