Media Network

एमाले र विप्लव समूह चुनावी तालमेलको तयारीमा


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७८,मंगलवार

धनगढी । पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तालमेलको तयारी भइरहेको छ । 

विप्लव समूहको कपिलवस्तुमा बसेको पछिल्लो केन्द्रीय समिति बैठकले चुनावमा नजाने र पार्टी दर्ता पनि नगर्ने निर्णय गरेको थियो । यद्यपि चुनाव एमसीसी विरुद्धको संगठन वा मोर्चालाई समर्थन गर्न सकिने उसले निर्णय गरेको थियो । साथै स्वतन्त्र ढंगले पार्टीका सदस्हरुलाई निर्वाचनमा भाग लिन पनि विप्लव समूहले छुट दिएको छ । 

पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार नै विप्लव नेकपाले चुनावबारेमा विभिन्न पार्टीहरुसँग गोप्यरुपमा छलफल चलाइरहेको छ । देशैभरका आफ्नो बलियो उपस्थिति रहेको क्षेत्रमा विप्लव नेकपाले चुनावी रणनीति बनाइरहेको स्रोतको भनाइ छ । 

यता, सुदूरपश्चिम प्रदेशमा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा विप्लव समूहले नेकपा एमालेसँग औपचारिक रुपमै छलफल थालेको छ । 


सोमवार धनगढीमा दुई पार्टीबीच भएको छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द तथा विप्लव नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन तथा विभिन्न जिल्लाका सेक्रेटरी सहभागी थिए ।

दुई पार्टीबीच अगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर कसरी जान सकिन्छ भन्ने विषयमा कुराकानी भएको बैठकमा सहभागी एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य रणबहादुर चन्दलाई उद्धृत गर्दै अनलाइनखबरले समाचार लेखेको छ । 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिका पदाधिकारीको बैठकले अध्यक्ष भण्डारीको अध्यक्षतामा चुनावी तालमेलबारे विभिन्न राजनीतिक दलसँग छलफल गर्न पाँच सदस्यीय वार्ता टोली बनाएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद