Media Network

एमालेकाे पोखरामा मेयर र उपमेयर उम्मेदवार छनोट आज


खबरस्टोरी संवाददाता

२ बैशाख २०७९,शुक्रबार

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्न शुक्रबार आन्तरिक मतदान गराउने भएको छ । एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदान गरी मेयर र उपमेयरको उम्मेदवार छनोट गर्न लागेको हो । लामो छलफलमा सहमति नजुटेपछि मतदान गरी टुंगो लगाउन लागिएको हो ।  शुक्रबार हुने मतदानका लागि यसअघिका आकांक्षी बाहेकले पनि दाबी गरी आन्तरिक प्रतिष्पर्धा गर्न पाउने भएका छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । 

निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ । 

पोखराको मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए भने उपमेयरमा ११ जना आकांक्षी थिए । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पूर्व अध्यक्ष दीपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।

यस्तै, उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङ आकांक्षी छन् । 

२०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिस्पर्धाबाटै एमालले मेयर र उपमेयरको नाम टुंगो लगाएको थियो । मानबहादुर जिसीले सबैभन्दा बढी मत ल्याएर मेयरको टिकट पाएका थिए भने उपमेयरमा प्रभा कोइरालाले धेरै भोट ल्याएपनि भेग र जातीय हिसाव मिलाउनुपर्ने भन्दै दोश्रो नम्बरमा सिफारिस भएकी गुरुङले टिकट पाएकी थिइन् । अहिले पनि मतदातबाट मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम सिफारिस हुनेछ । दुबै पदमा एक महिला र दुई पुरुषको नाम सिफारिस गरिने महानगर कमिटीले जनाएको छ । मेयर र उपमेयरको आन्तरिक चुनावमा १ सय १० जनाले मतदान गर्नेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद