Media Network

बालेनले जसलाई गुरु माने, उनै पराजित भए


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । देशैभरका ७ सय ७३ वटा पालिकामा भएको स्थानीय तह निर्वाचनमध्ये सबैभन्दा बढी चर्चा बालेन्द्र शाह उर्फ बालेनको छ । र्यापरका रुपमा परिचित बालेन पेशाले सिभिल इन्जिनियर हुन् । 

केही समय आफैले कन्सल्टेन्सी चलाएका उनी पछिल्लो समय युवा पुस्तामा निकै लोकप्रिय बने । विकासको नारा दिएर चुनाव जित्दै आएका राजनीतिक दलहरुलाई नजिकबाट नियालीरहेका बालेनले विकास नारामा होइन, काममा हुन्छ भन्ने राम्रैसँग बुझेका थिए । त्यसैले प्राविधिक ज्ञान भएका युवा पुस्ताहरुले स्थानीय सरकारको नेतृत्व गर्नुपर्छ भन्ने उनको निश्कर्ष रह्यो । 

यही निश्कर्षका साथ उनले केही वर्षअघि काठमाडौंको विकासका खाका कोर्न थाले । र, काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरे । बालेनको उम्मेदवारी घोषणाको खासै चर्चा भएन । तर उनी निरन्तर काठमाडौंको विकासको खाका बोकेर मतदाताको घर घर पुगे । हरेक मतदाताको घरघर पुगेर कन्भिन्स गरे । आफूलाई भोट दिन्छु भन्नेहरुको डाटा निकाले । त्यही डाटा अनुसार बालेनले आफूलाई ९० हजार ३ सय भोट आउने दाबी गरे । 

उनको दाबीलाई कुनै पनि राजनीतिक दलका नेताहरुले विश्वासै गरेनन् । एमालेबाट उम्मेदवारी दिएका केशव स्थापितले त बालेनलाई काठमाडौंको संस्कृतिको ‘स’ थाहा नभएको भन्दै बालेनको कटु आलोचना गरेका थिए । तर बालेनले कुनै प्रतिवाद गरेनन्, बरु स्थापितसँग अंकमाल गरेर फोटो खिचाए । 

चुनावअघि जोसँग आर्शिवाद थापे 

बालेन शाहले निर्वाचनको तयारीदेखि अन्तिम दिनसम्म युवाहरुको मात्रै मन जितेनन्, बृद्धवृद्धाकोसमेत मन जित्न सफल भए । वृद्धवृद्धाको टेक्ने सहारा ‘लौरो’ नै बालेनले चुनाव चिन्ह पाए । 

ठूला पार्टीहरुले वर्षौैंदेखि आफ्नो स्थायी चुनाव चिन्हको प्रचार मात्र होइन, पार्टीको नीति, विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर स्थापित चुनाव चिन्हमा लुछाचुँडी गरिरहेका थिए । तर बालेनलाई लौरो चिनाउन १० दिन नै काफी रह्यो । 

दश दिनको चुनाव प्रचार सकेर मौन अवधि शुरु हुँदै गर्दा बालेनले पुनः ललितपुरका पुराना जनप्रतिनिधि नरसिंह ब्यञ्जनकारको आर्शिवाद थापे । जो, २९ वर्षदेखि अर्थात निरन्तर दशौं पटकसम्म जितेर ललितपुर महानगरपालिका १० नम्बर वडाको वडाअध्यक्ष रहेका थिए । दल बिना नै निरन्तर जित्दै आएका ब्यञ्जनकारसँग बालेनले मेयर बन्ने तयारी गरेको पहिलो दिनदेखि नै सल्लाह, सुझाव र आर्शिवाद लिँदै आएका थिए । 

हरेक समय आफूलाई पथप्रदर्शक गर्दै आएका ब्यञ्जनकारलाई गुरु मान्दै बालेनले सामाजिक सञ्जालमासमेत आर्शिवाद लिएको तस्वीर पोष्टिएका थिए । 

‘गुरु’ हारे, बालेन हार्ने छैनन् 

ललितपुर महानगर १० ज्वागलका ब्यञ्जनकारले यो पटक पनि वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । एघारौं पटक उम्मेदवारी दिएका ब्यञ्जनकारको उमेर भने ८४ गर्ने बेला भइसकेको छ । ८१ वर्ष उमेर पुगेका ब्यञ्जनकारले यो चुनावमा पुतली चुनाव चिन्ह पाएका थिए । वडाका चिरपरिचित ब्यञ्जनकारलाई यसपाली उम्मेदवारी रोक्न आफ्नै परिवारले पनि प्रयास गर्यो । नेपाली कांग्रेसबाट आफ्नै भतिज रबिन ब्यञ्जनकारले उम्मेदवारी दिने तयारी गरे पनि नरसिंह पछि हटेनन् । 

जत्रा सुकै संगठन वा समूहहरु भए पनि नागरिकले चाह्यो भने एक मानिसले पनि स्थानीय तहमा धेरै सेवा दिन सक्छ र धेरै कुराहरु गर्न सक्छ भन्ने बालेनलाई अर्ति उपदेश दिएका नरसिंह भने यो पटक आफ्नै भतिजसँग पराजित भए ।  

आफूले गुरु मानेका ब्यञ्जनकार पराजित भए पनि बालेनले भने काठमाडौं महानगरपालिकामा अहिलेसम्म चमत्कारिक भोट ल्याइरहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद