उपाध्यक्षमा माओवादीको तर्फबाट अघिल्लोपटक उपाध्यक्षमा निर्वाचित लक्ष्मी चौधरीले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । उनी गठबन्धनको उम्मेदवार नभएको भन्दै यसअघि नै कारबाही गरिएको थियो । तर, आज कैलारी गाउँपालिका पुगेर माओवादी अध्यक्ष दाहालले बागी उम्मेदवार चौधरीलाई मत मागेका हुन् ।
कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकाको अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाएको थियो । माओवादीले पाएको भागमा अघिल्लोपटक अध्यक्ष निर्वाचित लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले पाएका भागमा भगवती चौधरीले उम्मेदवारी दिएका थिए ।उनले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए । ‘लाजुराम र लक्ष्मी चौधरीसहित म प्रचण्ड पनि तपाईंहरूको साथमा रहने विश्वास व्यक्त गर्न चाहन्छु ’, उनले भनेका छन’, ‘गठबन्धन क्लियर भएको छैन, पार्टीको उम्मेदवार जुनसुकै रूपमा अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्छु ।’
प्रधानमन्त्रीसँगै आएको भन्दै उनले कांग्रेसले दिएको उम्मेदवारी खारेज नभए एक्लै भए पनि चुनाव लड्नुपर्ने बताए । ‘गठबन्धन गर्नुको अर्थ सबै ठाउँमा झुक्नु होइन’, ‘उनले भने, ‘धोका बेइमानी स्वीकार्य हुँदैन, हामी एक्लै उभिएर लड्न तयार हुनुपर्छ ।’