Media Network

गठबन्धनका बागी उम्मेदवार केही फिर्ता, अधिकांशले टेरेनन्


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका बागी माओवादी उम्मेदवारहरुले फिर्ता लिए पनि कांग्रेसका बागी कार्यकर्ताले उम्मेदवारी कायमै राखेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमा शुक्रबार ५ बजेभित्र बागीले फिर्ता नगरी उम्मेदवारी कायमै राखेका हुन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले गठबन्धनविरुद्ध बागी दिएकाले तोकिएको समयसीमाभित्र फिर्ता लिन निर्देशन गरेको थियो । 

कांग्रेसले उम्मेदवार फिर्ता नलिने स्वतः पार्टीबाट निश्कासित हुने निर्णय गरे पनि अधिकांशले अस्वीकार गर्दै स्वतन्त्रबाट उम्मेदवारी कायमै राखेका छन् । गठबन्धनको निर्णय विरुद्ध उम्मेदवारी मनोनयन गरेका सबै दलका नेता कार्यकर्तालाई उम्मेदारी फिर्ता गर्न ह्वीप जारी गरिएको थियो । पार्टीको निर्देशनअनुसार माओवादीका बागीले उम्मेदवारी फिर्ता लिए पनि कांग्रेसका अधिकांशले उम्मेदवारी फिर्ता अस्वीकार गरे । 

पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिए । मेयरमा बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन फिर्ता लिएका हुन् । तर पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका काँग्रेसका विमल कार्कीले मनोनयन कायमै राखेका छन् । 

पोखरा महानगरमा सत्तारुढ गठबन्धनले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गरेको छ । 

यस्तै, चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका कांग्रेसबाट रुष्ट बनेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि उमेदवारी कायमै राखे । माओवादी केन्द्रकी रेणु दाहाललाई कांग्रेसले समर्थन गरेपछि पौडेल रुष्ट बनेका हुन् । पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ लगायतका नेताहरु चितवन पुगेका थिए । उम्मेदवार फिर्ता नलिएका बागी उम्मेवारलाई स्वतः पार्टीबाट निस्कासन गरिए पनि पौडेलले प्रवाह नगरी उम्मेदवारी कायमै राखेका छन् । 

उता, जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले पनि आफ्नो उम्मेदवारी कायमै राखेका छन् । नेपाली काँग्रेसको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले कांग्रेसको निर्देशन अस्वीकार गर्दै आफ्नो उम्मेदवारी कायमै राखेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार सुरज हितानमगर र उपमेयर पदमा उम्मेदवार सम्झना पौडेलले भने गठबन्धनको निर्णय स्वीकार गरी फिर्ता लिएका छन् । 

यस्तै,  काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयरका बागी उम्मेदवारी दिएका माओवादीका दिलबहादुर श्रेष्ठ र रुपा महर्जनले उम्मेदवारी फिर्ता लिएका छन् ।  

चन्द्रागिरिमा गठबन्धनको तर्फबाट मेयर नेपाली कांग्रेसका घनश्याम गिरी र उपमेयर पदमा राष्ट्रिय जनमोर्चाका रोशन दानी उम्मेदवार छन् ।

उता, टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवार बर्दिबास नगरपालिकाकारुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता लिएका छन् । काँग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मेदवारी कायमै राखेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद