Media Network

गठबन्धनले बनायो उम्मेदवार चयनको मापदण्ड


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौं । स्थानीय चुनावमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेका सत्ता गठबन्धनले उम्मेदवार चयनको मापदण्ड तयार गरेको छ । गठबन्धनको मंगलबार राती बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा नै स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार, पाँच दलीय गठनबन्धनका बीच स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट गर्दा देहाय बमोजिमको संयन्त्रले देहाय बमोजिमको सिट बाँडफाँट गर्ने निर्णय भएको जानकारी दिए । 

एकीकृत समाजवादीका जनप्रतिनिधिलाई सोही ठाउँ

गठबन्धनका शीर्ष नेताहरुको बैठकले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने निर्णय गरेको छ । 

सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि तिनै स्थान छाड्ने निर्णय गरेको हो । 

बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको बैठकमा सहभागी सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

यस्तो छ मोडालिटी

महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने।

नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको तालमेल सम्बन्धी सिट बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने।

प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुईदुई जना प्रतिनिधि रहने।

प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ–आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ।

सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद