कांग्रेस र एमालेको भोट काटेर जित्ने बालेनकाे दावी


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
कांग्रेस र एमालेको भोट काटेर जित्ने बालेनकाे दावी
काठमाडौं। र्यापर एवं इन्जिनियर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दर्ता लगत्तै उनले आफूले नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । 

आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरुको भोट काटेर म जित्न आएको हुँ ।’ 

एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए ।  उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्वीकार्नु पर्ने समेत बताए । 

‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वैकल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लोकतान्त्रिक अभ्यास हो,’ उनले भने । शाहले काठमाडौंको मेयरमा आफूले  ९० हजार ८३५ मतले जित्ने दाबी दोहोर्‍याए । अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई  मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।

‘युवा भएर मात्र भोट मागेका छैनौं ।  दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौं भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’ मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको समेत  उनले सुनाए ।