Media Network

कांग्रेस र एमालेको भोट काटेर जित्ने बालेनकाे दावी


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं। र्यापर एवं इन्जिनियर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दर्ता लगत्तै उनले आफूले नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । 

आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरुको भोट काटेर म जित्न आएको हुँ ।’ 

एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए ।  उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्वीकार्नु पर्ने समेत बताए । 

‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वैकल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लोकतान्त्रिक अभ्यास हो,’ उनले भने । शाहले काठमाडौंको मेयरमा आफूले  ९० हजार ८३५ मतले जित्ने दाबी दोहोर्‍याए । अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई  मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।

‘युवा भएर मात्र भोट मागेका छैनौं ।  दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौं भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’ मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको समेत  उनले सुनाए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद