कांग्रेसका बागीलाई उम्मेदवार फिर्ता लिन देउवाको अपिल


खबरस्टोरी संवाददाता
१५ बैशाख २०७९, बिहीबार
कांग्रेसका बागीलाई उम्मेदवार फिर्ता लिन देउवाको अपिल
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनका लागि बागी उठेका आफ्ना पार्टीका कार्यकर्तालाई उम्मेदवार फिर्ता लिन अपिल गरेका छन् ।  पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्नका लागि उम्मेदवारी फिर्ता लिन उनले अपिल जारी गरेका हुन् । 

‘नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’– देउवाले भनेका छन् । 

एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति आफू जानकार रहेको देउवाले स्वीकारेका छन् । 

पाँच दलीय गठबन्धनको निर्णय र सहमति अनुसार, पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनु पर्नेमा, त्यसको विपरीत पार्टीकै साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको र गठबन्धन गरिएका दलहरूका बीचमा भएको सहमति अनुसार उम्मेदवारी छाड्नु पर्ने स्थानमा समेत उम्मेदवारी दर्ता गराएको भन्दै देउवाले उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् । 

देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि पनि देउवाले अपिल गरेका छन् ।