Media Network

काठमाडौँ महानगरका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?


खबरस्टोरी संवाददाता

२९ बैशाख २०७९,बिहीबार

काठमाडौँ। वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले विभिन्न स्थानबाट मतदान गर्दैछन् । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् । 

सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकि सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएकोे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने जनाइएको छ  ।   

विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकि समीक्षा बास्कोटाले कामपा वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका वालेन्द साह (वालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने बताइएको छ । शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कामपाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।   

त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकि सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने बताए ।    

Share:
Reaction :
ताजा समाचार
खेलकुद