विगतदेखि नै राजनैतिक गढका रुपमा मानिदै आएका देशका धेरैजसो स्थानहरुमा दलको एकल सिन्डिकेट तोड्दै फरक राजनीतिक धार तथा विचार बोकेका पार्टी तथा तिनका उम्मेदवारहरु विजयी बनेका छन् भने मतगणना जारी रहेका ठाउँहरुमा उनीहरुको अग्रता रहेको छ ।
यसको अर्थ यो हुनसक्छ की, आम नागरिकहरु एकै खालको राजनीतिक आस्था र सधै एउटै अनुहारमा नयाँपन देखेनन् । फलतः यो पटक नयाँ र अर्को कुनै पार्टीमा नभएको दलविहिन उम्मेदवारलाई परिवर्तनका लागि स्वीकार गरेको देखिन्छ ।
छिमेकी मुलुक भारतमा उदाएको केजरीवालको आम आदमी पार्टी जस्तै देशको केन्द्र काठमाडौं महानगर र धरान उपमहानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवारले ‘जादू’ चलाइरहेका छन् ।
लौरोे चुनाव चिन्हले देशका ठूला नगरहरुमा जनताको साथ पाइरहँदा अन्य स्थानहरुमा भने निकै पछि देखिएको छ ।
पोखरा महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवार रहेका खड्गराज पौडेल ‘गनेस’ अन्य उम्मेदवारले प्राप्त गरिरहेको मतको तुलनामा कमजोर देखिएका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वी र गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरले पछि पारेका छन् । विहीबार विहानसम्मको परिणामअनुसार शाहले २१ हजार ८ सय १५ मत प्राप्त गरिसकका छन् ।
काठमाडौ महानगरमा बालेनको मुख्य प्रतिस्पर्धीका रुपमा रहेका एमालेका केशव स्थापितको मतान्तर १० हजार बढी छ । पाँच दलीय सत्ता गठबन्धनको उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।
काठमाडौं महानगरमा बालेनले लौरो चिन्ह पाउँदा धरान उपमहानगरपालिको प्रमुखका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पनि लौरो चिन्ह नै पाए ।
बालेनले जस्तै साम्पाङले गठबन्धनका उम्मेदवारलाई लौरी लाउने सम्भावना प्रवल छ । सुरुमा २२ मतले पछाडि परेका साम्पाङले पछि एकाएक मतान्तर बढाउन सफल भएका थिए ।
अघिल्लो पटकको वैशाख ३० को निर्वाचनमा १ लाख ४३ हजार २२६ मत खसेको पोखरामा महानगरमा भने लौरो चिन्ह पाएका खड्गराज पौडेल ‘गनेस’को मत भने कमजोर देखिएको छ । अहिलेसम्म ४२ हजार बढी मत गणना हुँदा लौरो चुनाव चिह्न रहेका गणेसले १ हजार मत कटाउन सकेका छैनन् । उनको विहीबार विहानसम्म ९२९ मत गणना भएको छ । उनी राप्रपा उम्मेदवार शंकर खराल भन्दा पनि पछि छन् ।
पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १७,४४३ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापा १५, ३९५ मत पाएका छन् ।
कतिपय ठाउँमा भने बालेनको लौरोको चर्चाकै कारण उम्मेदवार नै भएको स्थानमा पनि लौरो चिन्हमा धेरै मतपत्र भेटिएका छन् ।