निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर निर्वाचन चिह्न पाएका छन् ।
उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज उक्त निर्वाचन चिह्न प्रदान गरेको हो ।
भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा नेकपा ९माओवादी केन्द्र०लाई परेपछि उनी असन्तुष्ट हुँदा बागी उम्मेदवार बनेका हुन् । उनलाई कांग्रेसले शुक्रबार साधारण सदस्यबाट समेत हटाएको छ ।
उनले विपीको आदर्श र भरतपुरमा रहेका कांग्रेसीजनको निष्ठालाई अंगाल्दै भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी रहेको स्पष्ट पारेका छन् ।
उनलाई पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले मानेनन् र उम्मेदवार भएरै छाडे ।
यस्तै, काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ले भने निर्वाचन चिह्न ‘लौरो’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चर्चित र्यापर ‘बालेन’ लाई उक्त चिह्न आज प्रदान गरेको हो ।
धनगढीको उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन् ।
प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख पदमा उम्मेदवार बनेकी नमिता न्यौपानेले ‘लालटिन’ चिह्न पाएका छन् । आयोगले अन्य स्थानीय तहका स्वतन्त्र उम्मेदवारहरूलाई पनि ४० वटामध्येबाटै निर्वाचन चिह्न प्रदान गरिरहेको छ ।