निर्वाचन आयोगबाट विहीबार राती अबेर प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले २ सय ६३ स्थानीय तहमा जित्दै पहिलो स्थान बनाएको छ । कांग्रेसले ९० पालिका प्रमुख र १ सय ७३ अध्यक्ष जितेको छ । जारी मतगणनाअनुसार कांग्रेसले ३९ पालिका प्रमुख र १४ अध्यक्ष पदमा अग्रता लिइरहेको छ ।
यसैगरी, नेकपा एमाले १ सय ६९ स्थानीय तहको प्रमुख जित्दै दोस्रो स्थानमा रहेको छ । एमालेले अन्य ३२ वटा पालिकामा अग्रता लिइरहेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले अहिलेसम्म १०८ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थान बनाएको छ । माओवादीले एक उपमहानगरपालिकासहित १८ प्रमुख र ९० अध्यक्ष पदमा जित हासिल गरेको छ । माओवादीले अन्य १५ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी जसपाले १८ पालिकाको प्रमुख जितेको छ । जसपा अझै १२ पालिकामा अगाडि छ ।
यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ पालिकामा जित हासिल गरेको छ । एकीकृत समाजवादी अरु ५ पालिकामा अगाडि छ ।
गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले २ स्थानीय तह जितेको छ ।
स्वतन्त्रसहित अन्य दलले अहिलेसम्म १९ स्थानीय तहको प्रमुख जितेका छन् ।