Media Network

मतगणना अपडेटः ७२७ स्थानीय तहको नतिजा सार्वजनिक


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनाका क्रममा निर्वाचन आयोगले अहिलेसम्म ७२७ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।निर्वाचन आयोगबाट सोमबार विहान प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले ३ सय २० स्थानीय तहमा जित्दै पहिलो स्थान कायम राखेको छ । 

कांग्रेसले १३२ पालिका प्रमुख र १ सय ८८ अध्यक्षसहित जित हासिल गरेको छ । जारी मतगणनाअनुसार कांग्रेसले ललितपुर महानगरपालिकासहित अरु ४ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । 

यसैगरी, नेकपा एमाले ७६ पालिका प्रमुख र १२२ अध्यक्षसहित अहिलेसम्म १ सय ९८ स्थानीय तहको प्रमुख जित्दै दोस्रो स्थानमा रहेको छ । एमालेले अन्य ७ पालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष पदमा अग्रता लिइरहेको छ । 

यस्तै,  नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२० स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थान कायम राखेको छ । माओवादीले एक उपमहानगरपालिकासहित २४ पालिका प्रमुख र ९६ अध्यक्ष पदमा जित हासिल गरेको छ । माओवादीले भरतपुर महानगरपालिकासहित अन्य २ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । 

चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले २९ पालिकाको प्रमुख जितेको छ । 

यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म हेटौडा उपमहानगरपालिकासहित १७ पालिकामा जित हासिल गरेको छ । एकीकृत समाजवादी पोखरा महानगरपालिकामा अग्रता लिइरहेको छ । 

यस्तै, यसअघि मधेसमा बलियो मानिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १४ स्थानीय तह जितेको छ । 

गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४ स्थानीय तह जितेको छ । 

यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले २ स्थानीय तहमा जित हासिल गरेको छ । 

नेमकिपा, तराइ मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशिल पार्टी र विवेकशील साझाले एक एक सिट जितेका छन् । अहिलेसम्म स्वतन्त्रबाट धरान र धनगढी उप–महानगरपालिकासहित ११ स्थानीय तहको प्रमुख पद जितेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद