निर्वाचन आयोगबाट आइतबार विहान प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले ३ सय १० स्थानीय तहमा जित्दै पहिलो स्थान कायम राखेको छ ।
कांग्रेसले १२६ पालिका प्रमुख र १ सय ८४ अध्यक्षसहित जित हासिल गरेको छ । जारी मतगणनाअनुसार कांग्रेसले ११ पालिका प्रमुख र ४ अध्यक्ष पदमा अझै पनि अग्रता लिइरहेको छ ।
यसैगरी, नेकपा एमालेले ६९ पालिका प्रमुख र १२१ अध्यक्षसहित कुल १ सय ९० स्थानीय तहको प्रमुख जित्दै दोस्रो स्थानमा रहेको छ । एमालेले अन्य १२ पालिका प्रमुख र २ वटा गाउँपालिका अध्यक्ष पदमा अग्रता लिइरहेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२० स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थान कायम राखेको छ । माओवादीले एक उपमहानगरपालिकासहित २४ पालिका प्रमुख र ९६ अध्यक्ष पदमा जित हासिल गरेको छ । माओवादीले भरतपुर महानगरपालिकासहित अन्य ३ पालिका प्रमुखमा अग्रता लिइरहेको छ ।
चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले १९ पालिकाको प्रमुख जितेको छ । जसपा अझै ३ पालिकामा अगाडि छ ।
यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म हेटौडा उपमहानगरपालिकासहित १७ पालिकामा जित हासिल गरेको छ । एकीकृत समाजवादी पोखरा महानगरपालिकामा अग्रता लिइरहेको छ ।
यस्तै, यसअघि मधेसमा बलियो मानिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ स्थानीय तह जितेको छ ।
गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४ स्थानीय तह जितेको छ ।
यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले २ स्थानीय तहमा जित हासिल गरेको छ ।
नेमकिपा, तराइ मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशिल पार्टी र विवेकशील साझाले एक एक सिट जितेका छन् । अहिलेसम्म स्वतन्त्रबाट धरान र धनगढी उपमहानगरपालिकासहित १० स्थानीय तहको प्रमुख पद जितेको छ ।