Media Network

मेयर मनोनयन को कहाँ ? पोखरामा कांग्रेसको बागी


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि देशैभरका स्थानीय तहमा आइतबार विहान १० बजेदेखि उम्मेदवार मनोनयन दर्ता गर्ने क्रम जारी रहेको छ । अहिलेसम्म पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका युवा नेता विमलबहादुर कार्कीले बागी उम्मेदवारी दर्ता गराएका छन् । पाँच दलीय गठबन्धनको सहमति अनुसार पोखरामा नेकपा (एकीकृत समाजवादी)लाई मेयर छाडिएकोमा कांग्रेसका पोखरा नगरसमितिका पूर्व सभापति पोखरा १४ निवासी कार्कीले आइतबार नै मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । 

भरतपुरमा मेयरमा सात जनाको उम्मेदवारी

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन् ।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का हरिप्रसाद दुलाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाइजेसनबाट टेकबहादुर पुनले मनोनयन दर्ता गराएका छन् । 

भरतपुरमा स्वतन्त्रतर्फबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल र रामकृष्ण ओझाले पनि प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् । 

काठमाडौंमा मनोनयन जारी

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा समीक्षा बास्कोटालले उम्मेदवारी दर्ता गराइन् भने सो पार्टीबाट उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएकी छन् ।

जसपा छाडेका यादव स्वतन्त्र

विराटनगर महानगरपालिकामा शनिबार जसपा छाडेको घोषणा उमेश यादवले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । जसपाबाट मेयरको दाबेदार उनले सत्तारुढ गठबन्धनमा कांग्रेसलाई मेयर दिएपछि जसपा छाडेका थिए । 

यस्तै, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । 

उता, धनगढी उपमहानगरपालिकामा मेयर पदमा लोसपाबाट वसन्तबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा सचेत नेपाली पार्टीका तर्फबाट रामप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरको मेयर पदमा नेकपा (एकीकृत समाजवादी)का रोमनाथ भुर्तेलले उम्मेदवारी दर्ता गरेका छन् । भुर्तेलको प्रस्तावकमा केदरनाथ दुलाल रहेका छन् भने समर्थकमा देवनाथ अधिकारी छन् ।

बाराको कलैया उपमहानगरपालिकामा विवेकशील साझाबाट मेयरमा शिवजीप्रसाद साह कानुले मनोनयन दर्ता गराएका छन् । 

यस्तै, तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा स्वतन्त्रबाट व्यास ९ की पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएकी छिन् भने मंगोल नेशनल अगनाईजेशनबाट नगरप्रमुखमा अनिता थापामगरले उम्मेदवारी दर्ता गराएकी छिन् ।

उता, बाराको देवताल गाउँपालिकाका अध्यक्ष चन्दनकुमार सिंहले लोकतान्त्रिक समाजवादी पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद