मेयर उठ्न उपसचिवबाट राजीनामा दिएका भुसालले टिकट नपाएपछि…


खबरस्टोरी संवाददाता
१३ बैशाख २०७९, मंगलवार
मेयर उठ्न उपसचिवबाट राजीनामा दिएका भुसालले टिकट नपाएपछि…
काठमाडौँ। नवलपुरको देवचुली नगरपालिकाकाे मेयरमा लड्न भन्दै नेपाल सरकारकाे उपसचिव पदबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले अन्तत: टिकट पाएनन् ।

कांग्रेसका नेता डा. शशांक कोइराला तथा जिल्ला स्तरीय नेताहरुले उनलाई टिकटको आश्वासन दिएका थिए । भुसाल अन्तिमसम्म पनि टिकटका लागि आशावादी थिए। तर,  कांग्रेसले उनलाई टिकट नदिई अशाेक बस्ताकोटीलाई उम्मेदवार बनाएपछि उनी जिल्लिएका हुन्।

देवचुली गाउँपालिकाको कांग्रेस सभापति पनि रहिसकेका भुसालले केही साताअघि देवचुली नगरपालिकाको मेयरमा उम्मेदवारी दिन उपसचिव पदबाट राजीनामा दिएका थिए।

कर्मचारीबाटै राजनीतिक दाउ 

देवचुली नगरपालिका प्रगतिनगर निवासी भुसाल झण्डै २५ वर्ष सरकारी सेवामा रहे । निजामति सेवामा प्रवेश गर्नुअघि भुसालले केही समय शिक्षण पेशा समेत अंगाले । कावासोतीको विष्णुनगरमा पढाउँदै आएका उनी लोकसेवा दिएर निजमति सेवामा प्रवेश गरे । 

निजामति सेवामा प्रवेश गर्नुअघि भुसाल साविक प्रगतिनगर गाविसको कांग्रेस सभापति थिए । सरकारी जागिरमा छँदा पनि कांग्रेसको पहुँचमा लाभ लिएर प्रमोशन हुँदै आएका राजनीतिक पहुँचकै आधारमा देवचुली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत समेत भए । 

देवचुलीकै स्थानीय भएकाले र केन्द्रसँग राम्रो सम्बन्ध भएकै कारणले पालिकाको विकासे योजनाहरुमा राजनीतिक दल र सामाजिक संघ संस्थामा पनि पकड जमाए । 

भुसाल देवचुलीपछि प्रमुख प्रशासकीय अधिकृतका रुपमा गैंडाकोट नगरपालिका पुगे । गैंडाकोटमा रहेकैबेला कांग्रेस नेता कृष्णचन्द्र पोखेरेल नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री बनेपछि राजनीतिक लाभकै लागि मुख्यमन्त्रीको सचिवमा पोखरा तानिए । पोखरापछि उनी सामान्य प्रशासन मन्त्रालय पुगेका थिए । 

कर्मचारीलाई अगाडि सारेपछि कांग्रेसमा विद्रोह  

मुख्यमन्त्री पोखरेल, कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी, कांग्रेस गण्डकीका महामन्त्री तथा प्रदेश सांसद विष्णु लामिछानेको नजिकका भुसाललाई देवचुली नगरपालिकाको मेयर बनाउने योजना पोखराबाट काठमाडौंसम्म पुग्यो । 

मेयर दिने भन्दै भुसाललाई उपसचिवबाट राजीनामा दिन जिसी समूहले आग्रह गर्यो । तर टिकट निश्चित नहुँदासम्म उनी राजीनामा दिन तयार भएनन् । पार्टी सभापति जिसीले मेयरको टिकट निश्चित गराएपछि मात्रै भुसाल राजीनामा दिएर कांग्रेसको झण्डा बोकेर गाउँ फर्किए । कर्मचारीलाई मेयर बनाउने निर्णय भएपछि कांग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएका नेता कार्यकर्ता रुष्ट भए । 

धमाधम पार्टीबाट राजनीनामा दिँदै स्वतन्त्र उम्मेदवारको घोषणा स्थानीय नेता कार्यकर्ताले गर्न थालेपछि केन्द्रसम्म नै धक्का लाग्यो । विद्रोहको धम्की दिँदै अशोक बस्ताकोटीको टिमले केन्द्रसम्म नै धक्का दियो । कांग्रेसको आन्तरिक किचलोले गठबन्धन नै भत्किने अवस्थामा पुग्यो । 

अन्ततः मनोनयन दर्ताको समय एक दिन गइसकेपछि मध्यरातमा कांग्रेस गण्डकी प्रदेश कमिटीले निर्णय उल्ट्याउँदै बस्ताकोटीलाई मेयरको उम्मेदवार ठोस गर्यो ।   देवचुली नगरपालिकामा मेयर,उपमेयरसहित अन्य पदका लागि ३११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।