निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २३ वेब पोर्टलमाथि कारवाही


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने  २३ वेब पोर्टलमाथि कारवाही
काठमाडौं।  ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ ।  उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ । 

निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो ।  दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले बताएको छ । 

आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहित उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । यस्तै, चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई गम्भीर बन्न निर्देशन दिइएको छ । 

आठ वटा मिडियालाई लिखितरुपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार माध्यमलाई लिखितरुपमा आचारसंहित कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ ।