निर्वाचन अपडेट : एक लाख ४४ हजार बढीले दर्ता गराए मनोनयन


खबरस्टोरी संवाददाता
१३ बैशाख २०७९, मंगलवार
निर्वाचन अपडेट : एक लाख ४४ हजार बढीले दर्ता गराए मनोनयन
काठमाडौं। निर्वाचन आयोगले मध्याह्न साढे १२ बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४४ हजार ४१६ जनाको मनोनयन दर्ता भएको छ ।  

७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो । 

सर्वाधिक मधेस प्रदेशमा ३७ हजार ३७७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ । त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९२६ जना, लुम्बिनी प्रदेशमा २२ हजार ७६६ जना र प्रदेश १ मा २२ हजार ४७० जनाले मनोनयन दर्ता गराएका छन् । 

कर्णाली प्रदेशमा १३ हजार १२६ जना, गण्डकी प्रदेशमा १२ हजार ५४७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार २०४ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ। आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो ।