निर्वाचन कार्यक्रमः आज दाबी विरोधको उजुरी


खबरस्टोरी संवाददाता
१३ बैशाख २०७९, मंगलवार
निर्वाचन कार्यक्रमः आज दाबी विरोधको उजुरी
काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध मंगलबार दाबी÷विरोधको उजुरी दिन सकिने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता गराएका कुनै पनि उम्मदवारविरुद्ध निर्वाचन अधिकृतको कार्यालय पुगेर उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।  

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध जोकसैले पनि उजुरी दिन सक्छ । आयोगले प्राप्त उजुरीमाथि बुधबार र विहीबार जाँझबुझ गरेपछि उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्नेछ । 

निर्वाचन कार्यक्रमअनुसार वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । पाँच दलीय सत्ता गठबन्धनविरुद्ध अधिकांश कांग्रेसका नेता कार्यकर्ताले उम्मेदवार दर्ता गराएकोले फिर्ता गराउने पहल गरिरहेका छन् । 

वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।