Media Network

निर्वाचनको तीब्र तयारी तर चुनाव हुनेमै आशंका


खबरस्टोरी संवाददाता

३ बैशाख २०७९,शनिबार

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी तीब्र गरिरहेको छ । आयोगले मतपत्र छपाई, निर्वाचन पर्यवेक्षण गर्ने संस्था छनोट कार्य, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखहरुलाई प्रशिक्षण तथा मिडिया अभिमुखीकरण लगायतका कार्यक्रमहरु गरिरहेको छ । 

आयोगकाअनुसार, स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्र छाप्ने काम भइरहेको छ । अहिलेसम्म ३९ भन्दा बढी जिल्लाका लागि ७८ लाख ३३ हजार थान मतपत्र छपाई कार्य भइसकेको आयोगले जनाएको छ । आयोगकाअनुसार दैनिक ८ लाख थान मतपत्र छपाइ कार्य जारी छ । 

यस्तै, आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिई अनुमतिका लागि आवेदन मागेकोमा अहिलेसम्म ६५वटा संस्थाबाट विद्युतीय माध्यामद्वारा निवेदन प्राप्त भएको जनाएको छ । आयोगकाअनुसार उक्त निवेदन उपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धि निर्णय गरिनेछ । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि विराटनगर, धुलिखेल, पोखरा, धनगढी, जनकपुर, हेटौडा, बुटवल र धनगढीमा ‘निर्वाचन सञ्चालन तथा ब्यवस्थापन प्रदेशिक प्रशिक्षण’ सम्पन्न गरिसकेको जनाएको छ । 

प्रदेश १ को विराटनगर, गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा चैत २९ गते मिडिया अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिसकेको आयोगले वैशाख १ गतेदेखि ‘स्थानीय तह निर्वाचन इ–बुलेटिन’ प्रकाशनसमेत शुरु गरेको छ । 


वैशाख ३० मा निर्वाचन हुनेमै संशय 

स्थानीय तहको निर्वाचन आउन अब २७ दिन मात्रै बाँकी छ । निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन हुनेमै संशय पैदा हुन थालेको छ । सत्तारुढ गठबन्धनले निर्वाचनको सार्ने षड्यन्त्र गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेले आशंका गरिरहेको छ । 

एमालेले मात्र होइन, अन्य राजनीतिक दलहरुले पनि सरकारको गतिविधिप्रति शंका ब्यक्त गरेका छन् । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुसँग निर्वाचनमा भाग लिने भएमा निर्वाचन सार्ने संकेत दिइसकेको छ । विप्लव समूहले निर्वाचनमा भाग लिने संकेत दिएपछि दल दर्ताका लागि निर्वाचन मिति सार्न सकिने सरकारले जनाउ दिएको छ । तर विप्लव समूह निर्वाचनमा भाग लिने कुरा स्पष्ट हुुनुपर्ने सरकारले बताइसकेको छ । 

निर्वाचनको मिति सर्न सक्ने आशंका भइरहेकाबेला शनिवार मात्रै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि आशंका ब्यक्त गरे । शनिवार जनकपुरधाममा आयोजित स्थानीय तह २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचनको मिति सारिएमा देश दुर्घटनामा जाने बताए । निर्वाचनप्रति संशय उत्पन्न हुने अभिब्यक्तिहरु आउनु दुखद भएको बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद