Media Network

नवरात्रको दोस्रो दिन, आज ब्रह्माचारिणीदेवीको पूजा 


खबरस्टोरी संवाददाता

२२ आश्विन २०७८,शुक्रबार

काठमाडौं । नवरात्रको दोस्रो दिन शुक्रबार ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ । नौ दिनसम्म नौ देवीको पूजा गरिने भएकाले यसअवधिलाई नवरात्र भनिएको हो ।  

बडादसैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइन्छ ।

देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको विश्वास गरिन्छ ।

सेतो कपडा लगाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ ।

यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ। शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ । 

यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको धार्मिक विश्वास छ । नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवीको पूजा आराधना गर्ने गरिन्छ । 
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद