Media Network

७५२ पालिकाको मतगणना सकियोः अधुरो रह्यो बुढीगंगा


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ७५२ पालिकाको मतगणना सम्पन्न भएको छ । सोमवार उदयपुरको त्रियुगा नगरपालिकाको परिणाम आएसँगै ७५२ पालिकाको मतगणना कार्य सम्पन्न भएको हो । 

बाजुराको बुढीगंगा नगरपालिकामा भने वैशाख ३० गतेको मत रद्द गर्दै निर्वाचन आयोगले पुनः मतदान गरिने जनाएको छ । ९९ प्रतिशत मत खसेको बुढीगंगामा नेपाली कांग्रेस र एमालेले विभिन्न वडाहरुमा बुथ कब्जा गरेको थियो । 

निर्वाचन आयोगको जेठ १२ को बैठकले मतदान रद्द गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई हटाउन निर्देशन दिएको थियो । 

७५२ पालिकामा कसको कति ? 

बाजुराको बुढीगंगा नगरपालिकाबाहेक नेपाली कांग्रेसले १४१ पालिका प्रमुख र १ सय ८८ गाउँपालिका अध्यक्ष गरी ३ सय २९ स्थानीय तहमा जित्दै पहिलो बन्यो । 

यसैगरी, नेकपा एमाले ८२ पालिका प्रमुख र १२३ अध्यक्षसहित २ सय ५ स्थानीय तहको प्रमुख जित्दै दोस्रो बन्यो । 

यस्तै, नेकपा माओवादी केन्द्र एक महानगर, एक उपमहानगरपालिकासहित २५ पालिका प्रमुख र ९६ गाउँपालिका अध्यक्ष गरी १२१ स्थानीय तह जित्दै तेस्रो शक्ति बन्यो । 

सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी (जसपा)ले ९ पालिका प्रमुख र २१ अध्यक्ष गरी ३० स्थानीय तहमा जित हासिल गर्दै चौंथो बन्यो  । 

यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पोखरा महानगर र हेटौडा उपमहानगरपालिकासहित १२ पालिका प्रमुख र ८ अध्यक्ष गरी २० स्थानीय तह जित्दै चौंथो शक्ति बनेको छ । 

यस्तै, यसअघि मधेसमा बलियो मानिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ स्थानीय तह जितेको छ । 

गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले ४ स्थानीय तह नेतृत्व जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४ तथा सिके राउत नेतृत्वको जनमत पार्टीले २ स्थानीय तह जितेको छ । 

यसैगरी, नेमकिपा, तराइ मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशिल पार्टी र विवेकशील साझाले एक एक सिट जिते । 

स्वतन्त्रबाट काठमाडौं महानगरपालिकासहित धरान, धनगढी र जनकपुरधाम उप–महानगरपालिका र अन्य पालिका गरी १३ स्थानीय तहको प्रमुख पदमा निर्वाचित भए । 

काठमाडौं महानगरपालिकासहित अधिकांश जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसकेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद