Media Network

पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष उपाध्यक्ष दुवै पदमा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको हो । 

अध्यक्ष पदमा एमालेका विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए । 

यस्तै, मंगोल नेशनल अर्गनाइजेशनबाट मेयर उम्मेदवार ठाकुर सिं सारुले २ सय ७३ मत प्राप्त गरे । 

सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित निर्वाचित भइन् । एमालेबाट निर्वाचित अध्यक्ष उपाध्यक्ष दुवै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि पनि उनीहरु दुवै अध्यक्ष उपाध्यक्ष थिए । 

श्रेष्ठकी प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरेका छन् । अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रम्भा गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । विवाद समाधानपछि जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो । 

यसअघि पाल्पाको ९ वटा पालिकाको परिणाम आइसकेको छ । 

पाल्पाको तानसेन नगरपालिकासहित कांग्रेसले रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले गठबन्धनको सहयोगमा रिब्दीकोट गाउँपालिका मात्रै जितेको छ । 

पाल्पाका अन्य सबै पालिकामा एमाले विजयी भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद