Media Network

परिणाम अन्तिम चरणमाः काठमाडौंसहित चार पालिका बाँकी


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । देशैभरका ७५३ स्थानीय तह निर्वाचन अन्तर्गत परिणाम आउन बाँकी रहेका तीन पालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । काठमाडौंसहित चार पालिकाको परिणाम आउन बाँकी छ । काठमाडौंसहित रुपन्देहीको तिलोत्तमा र उदयपुरको त्रियुगा नगरपालिकाको गणना अन्तिम चरणमा पुगेको छ । बाजुराको बुढीगंगा नगरपालिकामा भने नेपाली कांग्रेस र एमालेले एक अर्कामा बुथ कब्जाको आरोप लगाएपछि गणना नै हुन सकेको छैन । 

अन्तिम परिणाम घोषणाको तयारीमा रहेको काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपमेयर एमालेकी सुनिता डंगोल विजयको नजिक छन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसका रामकृष्ण खाँडले एमालेका मोहन चापागाईँलाई ९५० मतले अग्रता लिएका छन् । उपमेयरमा भने एमालेकी जगेश्वरदेवी चौधरी विजय उन्मुख भएकी छन् । माओवादी केन्द्रका हेमलाल पाण्डेको भन्दा झण्डै १० हजार बढी मत ल्याएकी छन् । 

यस्तै, उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना पनि जारी छ । त्रियुगाको मेयरमा अहिलेसम्म नेकपा एकीकृत समाजवादी तथा उपमेयरमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । 

कुन दललाई कति पालिका ? 

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसले ३ सय २७ स्थानीय तहमा जित्दै पहिलो स्थान कायम राखेको छ । 

कांग्रेसले ललितपुर महानगरपालिकासहित १३९ पालिका प्रमुख र १ सय ८८ गाउँपालिका अध्यक्षसहित जित हासिल गरेको छ । 

यसैगरी, नेकपा एमाले ८२ पालिका प्रमुख र १२३ अध्यक्षसहित अहिलेसम्म २ सय ५ स्थानीय तहको प्रमुख जित्दै दोस्रो स्थान कायम राखेको छ । 

यस्तै,  नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२१ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थानमा रहेको छ । माओवादीले एक महानगर, एक उपमहानगरपालिकासहित २५ पालिका प्रमुख र ९६ गाउँपालिका अध्यक्ष जितेको छ । 

चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले ३० पालिकाको प्रमुख जितेको छ । 

यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पोखरा महानगर र हेटौडा उपमहानगरपालिकासहित २० पालिकामा जित हासिल गरेको छ । एकीकृत समाजवादी उदयपुरको त्रियुगा नगरपालिका पहिलो प्रतिष्पर्धामा छ ।  

यस्तै, मधेसमा बलियो मानिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ स्थानीय तह जितेको छ । 

गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४ स्थानीय तह जितेको छ । 

यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले २ स्थानीय तहमा जित हासिल गरेको छ । नेमकिपा, तराइ मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशिल पार्टी र विवेकशील साझाले एक एक सिट जितेका छन् ।

अहिलेसम्म स्वतन्त्रबाट धरान, धनगढी र जनकपुरधाम उप–महानगरपालिकासहित १२ स्थानीय तहको प्रमुख पद जितेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद