नगरप्रमुखमा निर्वाचित मदनभक्त अधिकारी पूर्वपञ्च हुन् । उनी पञ्चायतकालमा लगातार २५ वर्षसम्म गैंडाकोटका प्रधानपञ्च थिए । नेपाली कांग्रेसका किसान नेता स्वर्गीय सूर्यभक्त अधिकारीका छोरा ०४६ सालपछि भने कांग्रेसमा सक्रिय छन् ।
नेता डा. सशांक कोइरालाले पछिल्लो समय लगातार चुनाव लड्दै आएको जिल्ला नवलपुरको दुई पालिकाबाहेक सबैजसो स्थानीय तह कांग्रेसले गुमाउने देखिएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा गैंडाकोट भने एमालेको पोल्टामा पुगेको थियो । अघिल्लो निर्वाचनमा गैंडाकोट र कावासोती नगरपालिकाबाहेक सबै पालिकामा कांग्रेसले जितेको थियो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने कांग्रेसले हुप्सेकोट गाउँपालिका र गैंडाकोट नगरपालिकामा मात्रै जित हासिल गरेको छ । यसअघि जितेको देवचुली नगरपालिकाका साथै विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिका यो पटक गुमाइसकेको छ ।
विनयी त्रिवेणीमा यसअघिकै निर्वाचित अध्यक्ष डम्बरबहादुर जिसी, बुलिङटारमा शशिकिरण बस्ताकोटी र हुप्सेकोटमा लक्ष्मी पाण्डेले नै टिकट पाएका थिए । जिसी र बस्ताकोटी पराजित हुँदा हुप्सेकोटकी पाण्डेले भने दोस्रो पटक चुनाव जितिन् ।
गैंडाकोट नगरपालिकामा भने यसअघि एमालेका छत्रराज पौडेलले मेयर पदमा चुनाव जितेका थिए । एमालेबाट यो पटक पनि उनैले टिकट पाएका थिए । कांग्रेसको पकड मानिएको अन्य पालिकामा एमालेले कब्जा जमाउँदा पौडेलले भने पराजय ब्यहोर्नुपर्यो । कांग्रेस नेता अधिकारीले एमालेका पौडेललाई २ हजार ८ सय ४९ मतान्तरले पराजित गरिदिए ।
यस्तै, यसअघि मेयर जितेको देवचुली नगरपालिकामा एमालेका हरिप्रसाद न्यौपानेले कांग्रेसका अशोक बस्ताकोटीलाई १ हजार ५ सय ९६ मतअन्तरले पराजित गरे । एमालेका न्यौपाने यसअघि एमालेबाट नै मेयरमा पराजित भएका थिए । यो पटक नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर पनि कांग्रेसले पराजय ब्यहोरेको छ ।
नवलपुरकै पहाडी गाउँपालिका बौदिकालीमा कांग्रेसका पत्रकारसमेत रहेका केबी राना एमालेका प्रकाश ओझासँग पराजित भए ।
मतगणना जारी रहेको कावासोती र मध्यबिन्दु नगरपालिकामा पनि कांग्रेस उम्मेदवारलाई एमालेले लिड गरिरहेको छ । दुवै पालिकामा मतगणना अन्तिम अवस्थामा पुग्दा एमाले उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् ।