Media Network

रेणु दाहालविरुद्ध कांग्रेसका २५ उम्मेदवार खडा


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित प्रचण्डपुत्री रेणु दाहालविरुद्ध नेपाली कांग्रेसका २५ उम्मेदवार खडा भएका छन् । 

भरतपुर महानगरपालिका मेयरका लागि मात्रै उम्मेदवार बन्न नेपाली कांग्रेसबाट २५ जनाको आवेदन परेको छ । भरतपुरमा माओवादी अध्यक्ष प्रचण्डले भने आफ्नो छोरी रेणुलाई नै दोहोर्याउन चाहेका छन् । प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाएर छोरीलाई नै उम्मेदवार बनाउने तयारी गरिरहेका छन् ।  

कांग्रेसको महानगर समितिले उम्मेदवार बन्न चाहनेहरूबाट आवेदन माग गरेकामा महानगरपालिका प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाको आवेदन परेको छ । मेयरलका लागि भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेलसहित २५ जनाको दाबी रहेको भन्दै कांग्रेसको भरतपुर सभापति चित्रसेन अधिकारीले विज्ञप्ति नै निकालेका छन् । 

बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले पनि भरतपुरको मेयरमा दाबी गरेका छन् । उनी सभापति शेरबहादुर देउवानिकट नेता हुन् । 

त्यस्तै, केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङले पनि मेयरमा दाबी गरेका छन् । कोइराला गत चुनावमा उम्मेदवारी मनोनयन गरेपछि फिर्ता गराइएका उम्मेदवार हुन् भने गुरुङ पार्टीका पुर्व जिल्ला सभापतिसमेत हुन् । हाल उपमेयर रहेकी नेतृ पार्वती शाह ठकुरीले पनि मेयरमा दाबी गरेकी छन् ।

त्यस्तै, नेताहरू नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दिर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडीले पनि मेयरको उम्मेदवार बन्न आकांक्षा राखेका छन् । 

अब महानगरपालिका कार्यसमितिले आकांक्षा राख्नेमध्ये पार्टीको विधानबमोजिम तीन जनाको नाम सिफारिस गर्नेछ ।

त्यस्तै, महानगरपालिकाको उपप्रमुखको उम्मेदवार बन्न २४ जनाले आकांक्षा देखाएका छन् । उपमेयरका लागि नेताहरू टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ, राजिब न्यौपाने, वीरेन्द्र के सी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवि भद्र शर्मा खनालले दाबी पेश गरेका छन् ।

त्यस्तै, निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले पनि उपमेयरका लागि दाबी गरेका छन् ।

निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन गर्ने मिति तोकेको छ । कांग्रेसको विधानअनुसार महानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार चयन केन्द्रीय संसदीय समितिले गर्नेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद