Media Network

राप्रपा मात्र चार पालिकामा खुम्चियो


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी स्थानीय तह २०७९ को निर्वाचनमा देशभरका ७५३ पालिकामध्ये चार पालिकामा सिमित भएको छ । 

देशभरी नै ठूलो शक्तिका रुपमा उदाउने चर्चा भइरहेको राप्रपाले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा झापाका दुई तथा काठमाडौं र कपिलवस्तुको एक एक पालिकामा मात्रै जित हासिल गरेको छ । 

झापाको दमक नगरपालिकामा राप्रपाका रामकुमार थापा १७ हजार ५ सय २५ मत प्राप्त गरि विजयी भए । एमालेकी गीता कुमारी पौडेल अधिकारीले १६ हजार ५ सय २५ मत प्राप्त गरिन् । 

यस्तै, झापाकै हल्दीबारी गाउँपालिका अध्यक्षमा पनि राप्रपाका रविन्द्र प्रसाद लिङदेन विजयी भए । लिङदेन ६ हजार ८ सय ५६ मत ल्याउँदा एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६ सय ६६ मत प्राप्त गरे । 

यसैगरी, राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकामा पनि मेयर पद जितेको छ । राप्रपाका रमेश नापित ४ हजार ७ सय मत प्राप्त गरि निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४ हजार २ सय २ मत पाए । 

शंखरापुरका मेयर उम्मेदवार एमालेका कृष्णला बजगाईँले ३६२२ तथा माओवादी केन्द्रकी मधु केसीले २२४४ मत पाए । 

यस्तै, राप्रपाले कपिलवस्तुको शिवराज नगरपालिका प्रमुख पद पनि जितेको छ । शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा ७ हजार ६ सय २ मत प्राप्त गरि निर्वाचित हुँदा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत प्राप्त गरे ।  

राप्रपा भन्दा बढी स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । अहिलेसम्म ११ पालिकामा स्वतन्त्र निर्वाचित भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद