उनले आज एक अपिल जारी गर्दै कांग्रेसको नेतृत्वमा दशकौँसम्म भएका लोकतान्त्रिक सङ्घर्षको अविराम यात्राका थुप्रै आरोह–अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैँ बनाउने अवसर प्राप्त गरेको उल्लेख गरेका छन् । अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न उनले आह्वान गरेका छन् ।
कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी छ । नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा कांग्रेसको निर्णायक भूमिका रहँदै आएको छ । “नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम हाम्रासामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको हो र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सबै जानकार नै छौँ”, उनले अपिल गरेका छन् ।
अपिलमा भनिएको छ ‘‘कांग्रेस एउटा राष्ट्रिय सङ्कल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना ज्ञान र प्रविधिका जानकार जनशक्ति एवं राजनीतिक तथा शासकीय स्थिरताका लागि प्रतिबद्ध छ ।’’ कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युत्को उत्पादन, पूर्वाधार रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका सङ्कल्प कांग्रेसले लिएको सभापति देउवाले उल्लेख गरेका छन् ।
‘कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ’
सभापति देउवाले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड–१९ महामारीको त्रासदीमा रहेका आम नागरिकलाई २०७८ चैतभित्रै खोप उपलब्ध गराउने प्रतिबद्धता समयमै पूरा भएको सो अपिलमा उल्लेख गरेका छन् । उनले अन्योलमा रहेको मेलम्ची खानेपानी आयोजनाबाट यही वैशाखभित्र पानी वितरण गरी काठमाडौँ नगरवासीको आकाङ्क्षा पूरा गर्न सरकार सफल भएको बताए । “कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित कांग्रेसले गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदायमाझ भरोसा र विश्वास बढेको छ । संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भइरहेका छन्”, सभापति देउवाद्वारा जारी अपिलमा उल्लेख छ ।
स्थानीय तहमा उपलब्ध अवसर एवं स्रोत साधनको अधिकतम परिचालन गर्दै सङ्घ र प्रदेशको समन्यायिक सहयोग र समन्वयमा विशेष गरी युवा पुस्ताको सिर्जनशीलता, उद्यमशीलता, रोजगारी र आय आर्जनका माध्यमबाट आर्थिक समुन्नति हासिल गर्नेतर्फ कांग्रेस क्रियाशील हुने उनले जनाएका छन् । सभापति देउवाले स्थानीय तहलाई कानूनतः सवल र समृद्ध बनाउने प्रतिबद्धता पूरा गर्न कांग्रेसले कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक छन् भन्ने प्रष्ट पारेका छन् ।
उनले अपिलमा भनेका छन् , “कांग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो । अरु कुरा गर्छन्, हामी काम गर्छौँ । सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर हाम्रो मूलमन्त्र हो । यो विश्वासका साथ ‘रूख’ चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउनु हुन अपिल गर्दछु ।”