Media Network

सिट बाँडफाँडमा कांग्रेसले ठूलो भाग खोजेपछि ...


खबरस्टोरी संवाददाता

२४ चैत्र २०७८,बिहीबार

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनमा सिट बाँडफाँटमा किचलो शुरु भएको छ ।  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको निर्वाचन अनुगमन तथा तयारी समितिको पहिलो बैठकमा नै दलहरुबीच सिट बाँडफाँडमा किचलो शुरु भएको हो । सिट बाँडफाँडमा सरकारको नेतृत्व गरिरहेको नेपालीकांग्रेसले ठूलो भाग खोजेको छ भने माओवादी केन्द्रसहितका चार दलले अस्वीकार गरेका छन् ।  

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको निर्वाचन अनुगमन तथा तयारी समितिको पहिलो बैठकमा पाँच दलले सिट बाँडफाँटको मापदण्डबारे फरक–फरक प्रस्ताव अघि सारेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले आफूअनुकूल तालमेल प्रस्ताव अघि सारेका छन् । 

गठबन्धन भित्रका दलले गत निर्वाचनमा प्रमुख जितेको ठाउँमा प्रमुख लिने तथा एमालेसहित अन्य दलले जितेको ठाउँमा मत संख्याको आधारमा बढी मत ल्याउनेले प्रमुख लिने प्रस्ताव कांग्रेसले गरेको छ । कांग्रेसको प्रस्ताव अनुसार गठबन्धनबाहिरको दलले जितेको स्थानमा तेस्रो बढी मत ल्याउनेले उपप्रमुख वा उपाध्यक्ष पाउनेछन् । कांग्रेस नेताहरुले यो प्रस्ताव वैज्ञानिक हुने तर्क गरेका छन् । 

अन्य दलहरुले भने त्यसो गर्दा अहिले आफू बलियो रहेको ठाउँ पनि कांग्रेसलाई दिनुपर्ने अवस्था आउने दाबी गरेका छन् । 

यता, चुनावमा सिट बाँडफाँडको रस्साकस्सी चलिसक्दा पनि कांग्रेस नेता डा.शेखर कोइराला भने तालमेलको विरोध गर्दै हिडेका छन् । 

बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्‍चारकर्मीसँग कुरा गर्दै कोइरालाले तालमेलभित्रको आवश्यकता र औचित्य र स्थानीय तहलाई नै उम्मेदवार छनोट गर्न दिनुपर्ने बताए । केन्द्रीय समितिमा आफूहरू बहुमत सदस्यबाट पेलिएको समेत उनले गुनासो गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद